पार्टीमा अब ६०\४० को भागबण्डा खोज्दैनौँ, पार्टी गुटरहित स्वच्छ बन्छ : उपसभापति गुरुङ

काठमाडौं, ३ पुष । नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पहिलेको झैँ ६०\४० को भाग खोज्न नजाने बताएका छन् ।

आफूहरुले महाधिवेशनमा ४० प्रतिशत मत पाएपनि अब ६०\४० को भाग खोज्न नजाने उनले स्पष्ट पारे । भागबण्डा र गुटले पार्टीलाई कमजोर बनाउने उनले दाबी गरे ।

उनले भने, ‘भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने पक्षमा छु। न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रूपान्तरित र न्यायोचित ढङ्गले अघि बढाउने छौँ।’

‘उनले थपे पार्टी भित्र विधि र पद्धति स्थापित गर्नेहरूले फेरि भागबण्डा खोज्न थाल्यो भने पार्टी थिलथिलो हुन्छ । हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौँ भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ । अब हामी सबै काँग्रेसको सभापति, उपसभापति हो । त्यसको लागि काम थाल्नुपर्छ, न्यायोचित व्यवस्थापन गर्ने हो । भागबण्डा गरेर न्यायोचित व्यवस्थापन हुँदैन । रूपान्तरित गरेर लैजाने सन्दर्भमा हामीले पार्टीभित्र न्यायोचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’