प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठान , ०८ मसिर । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।

निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ ।

उहाँका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिनुभयो ।

नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहनुभएका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गर्नुभएको छ ।

यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी हुुनुभएको छ ।

उहाँले २० हजार दुई सय १० मत ल्याई विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याउनुभएको छ ।

अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ एमालेका उम्मेदवार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित हुनुभएको हो ।

यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा ९रोज राणा० विजयी हुनुभएको छ । उहाँले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका राणाले प्रतिद्वन्द्वी उम्मेदवार एमालेका रिजाललाई एक हजार सात सय ११ मतान्तरले पराजित गर्नुर्भको हो ।

एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो । एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो ।

प्रदेशसभा २ मा भने ४७ हजार एक सय ३९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।