ओलीको जन्मजिल्ला तेह्रथुमा एमालेका सुब्बाको अग्रता

तेह्रथुम, ०९ मंसिर। तेह्रथुमको प्रतिनिधि सभातर्फको पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता बढाएको छ ।

प्राप्त जानकारी अनुसार यतिबेला एमालेका विजय सुब्बाले ५३९ मतले अग्रता कायम गरेका छन् ।

सुब्बाले १० हजार ६६३ मतले लिड गरिरहेका छन् भने उनलाई नेपाली काँग्रेसकी सिता गुरुङले १० हजार १२४ मतका साथ पछ्याइरहेकी छन् ।

सुब्बाले म्याङलुङ नगरपालिकाको मत गणना हुँदा गुरुङलाई पछि पारेका हुन् ।

७१ हजार ९३३ मतदाता रहेका जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

जिल्लाको प्रदेशसभा तर्फ २ मा माओवादीको दुर्गा चापागाईँ विजयी भइसकेका छन् । त्यस्तै, १ तर्फ एमालेका किशोरचन्द्र दुलाल विजयी भएका छन् ।

यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मजिल्ला हो । तेह्रथुम जिल्लालाई कुनै समय कम्युनिष्टरुको किल्लाको रुपमा पनि लिने गरिन्थ्यो ।