इलाम, १० मंसिर । इलाम–२ मा चुनावी मत परिणाम रोचक बन्दै गएको छ । सबैजसो क्षेत्रको नतिजा आइसकेको र बाँकी रहेका मध्ये सबैभन्दा चासोको रुपमा हेरिएको यो क्षेत्रको मत परिणाम पनि कम रोचक छैन । किनकी यहाँ संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धन आबद्ध दलहरुका साझा उम्मेदवार काँग्रेसका डम्बरबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
रोचक यस कारणले पनि छ की यहाँ सुरुमा काँग्रेसका खड्काले धेरै मतान्तरका साथ अग्रता लिएका थिए भने त्यसबीचमा नेम्वाङले पछि पार्दै करिब २ हजारको मतान्तर बनाएका थिए । तर यतिबेला इलाम नगरापालिकाका केही वडाको मात्रै मतगणना गर्न बाँकी छ । यसक्रममा नेम्वाङसँगको मतान्तर घटाउँदै खड्काले लगभग बराबरीको स्थितिमा ल्याएका छन् र
पछिल्लो मत परिणाम अनुसार नेम्वाङसँग उनको फरक मत १ सय ३४ मात्र छ ।
नेम्वाङले २७ हजार ८ सय १९ मत पाउँदा खड्काले २७ हजार ६ सय ८५ मत ल्याएका छन् । कूल ६९ हजार ८५ मत खसेकोमा हालसम्म ६४ हजार २ सय २४ मत गणना भइसकेको छ ।
इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए ।
अहिले इलाम नगरपालिका ३ नम्बर वडाको मत गणना भइरहेको छ ।
चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम क्षेत्र २ मा रहेका छन् ।
गणना गर्न इलाम नगरपालिकाको २ र १ वडामात्र बाँकी छ । प्रदेशसभातर्फ इलाम २ ‘१’ मा कांग्रेसका गोविन्द गिरी अगाडि छन् ।
जसमा गिरीले १४ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्ते एमालेका गणेश बरालले १३ हजार २ सय ४४ मत प्राप्त गरेका छन् ।
प्रदेश २ ‘२’ मा एमालेका राम राना विजयी भइसकेका छन् ।