एकै निर्वाचनमा दुई पटक विजयी वसन्त नेम्वाङ, बल्ल पाए प्रमाणपत्र !

फिदिम, १३ मसिर । पाँचथरमा फेरी वसन्तकुमार नेम्वाङ नै विजयी भएका छन् । समानुपातिक मतपेटिकामा भेटिएका प्रत्यक्षतर्फको मत भेटिएपनि जोड्ने सहमतिपछि भएको मतगणनामा पनि नेम्वाङ नै विजयी भएका हुन् ।

यसअघि प्रत्यक्षतर्फको मत गनिसक्दा एमालेका नेम्वाङले काँग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार भीष्मराज आङ्देम्बेलाई ४७ मतले पराजित गरेका थिए ।

त्यसपछि पाँचथरमा एमालेसहित सुवेच्छुकहरुले वसन्त नेम्वाङको विजयी जुलुस भव्य रुपमा मनाएका थिए । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेम्वाङको विजयी घोषणा गरेन । र, उनलाई विजयीको प्रमाणपत्र पनि दिएन । कारण थियो, मतदाताले प्रत्यक्षको मत समानुपातिकमा पनि हाल्नु ।

समानुपातिककमो मत गन्दै जाँदा पतपेटिकामा प्रत्यक्षको मत पनि भेटिएपछि विजय निश्चित भएन । त्यसपछि सर्वदलीय बैठक बसेर समानुपातिकमा जति मत जस्को भेटिन्छ त्यो पनि जोड्ने भद्र सहमति भयो । त्यसको ३ दिन पछि समानुपातिक मतगणना पनि भइसक्यो । तर नेम्वाङको ४७ मतको अग्रतालाई काँग्रेसले तोड्न सकेन । बरु ४६ मतको अन्तरमा मात्रै झार्न सक्यो । किनकी समानुपातिक मत गन्दा रुखमा २५ मत भेटिए । उता काँग्रेसमा २६ मत भेटियो । यसले नेम्वाङको जितमा कुनै प्रकारको प्रभाव पार्न सकेन ।

यो सँगै पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२ हजार ११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाएको अन्तिम निष्कर्ष भएको छ ।
मंगलबार साँझ निर्वा मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले नेम्वाङलाई विजयीको प्रमाणपत्र प्रदान गरिसकेका छन् । यसअघि नेम्वाङ प्रमाणपत्र पाउनबाट बञ्चित भएका थिए ।

यस जिल्लाको प्रदेशका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् ।