काठमाडौं, ४ पुष । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित महामन्त्री गगनकुमार थापालाई टेलिफोन गरि प्रमुख दलका शीर्ष नेताको बैठकमा बोलाएका छन् ।
पूर्वनिर्धारित समय अनुसार बालुवाटारमा आज सर्वदलिय बैठक बोलाइएको थियो । उक्त बैठकमा उपस्थित हुन देउवाले महामन्त्री थापालाई पनि बोलाएका हुन् । थापा यसअघि कुनै पनि सर्वदलिय बैठकमा बसेका थिएनन् ।
महामन्त्रीमा निर्वाचित भएपछि भने थापालाई पहिलो पटक यो अवसर मिलेको हो । थापालाई सचिवालयबाट नभइ प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नै टेलिफोन गरि बोलाएका थिए ।
संसदको गतिरोध अन्त्य र एमसीसीबारे साझा धारणा बनाउनका लागि प्रधानमन्त्री देउवाले सर्वदलिय बैठक बोलाएका थिए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उक्त बैठक बहिस्कार गरेको छ ।