मैनाली समाज र आठराई – ६ को समन्वयमा एम्बुलेन्स संचालनमा, वडाबासीलाई २० प्रतिशत छुट

तेह्रथुम, १७ मंसिर । मैनाली समाज तेह्रथुम र आठराई गाउँपालिका– ६ वडा कार्यलय चुहानडाँडाको समन्वय तथा आर्थिक सहयोगमा एम्बुलेन्स संचालनमा आएको छ ।

मैनाली समाज नेपालले तेह्रथुमलाई एक वर्ष अगाडि नै प्रदान गरेको उक्त एम्बुलेन्स वडाको समन्वय तथा आर्थिक सहयोगमा शुक्रबारबाट संचालनमा आएको हो ।

गत कात्तिकमै उक्त एम्बुलेन्स मैनाली समाज तेह्रथुमलाई प्रदान गरिएपनि आर्थिक अभावका कारण सक्रिय रुपमा संचालन हुन सकेको थिएन ।

आर्थिक अभावका कारण एम्बुलेन्स संचालन गर्न नसकिएका कारण वडा सँगको समन्वय गर्नु परेको मैनाली समाज तेह्रथुमका अध्यक्ष जयप्रसाद मैनालीले बताए ।

मैनाली सामजको नाममा भएको एम्बुलेन्स शुक्रबारदेखि वडा – ६ कार्यालयको समन्वयमा सन्चालनमा आएको वडाध्यक्ष कृष्ण बास्कोटाले बताए ।

‘आर्थिक अभावका कारण संचालन हुन नसकेको भनी हामीसमक्ष उहाँहरुले योजना माग्नुभयो,’ अध्यक्ष बास्कोटाले भने, ‘हामीले २ लाख ७५ हजार सहयोग गरेर एम्बुलेन्स संचालनका लागि तयार गरेका छाैँ।’

शुक्रबार नै एम्बुलेन्सको चालक नियुक्ति र अन्य आवश्यक प्रकृया पूरा गरिएको बास्काेटाले बताए ।

उक्त एम्बुलेन्स प्रयोगमा वडा – ६ चुहानडाँडाको बासिन्दाले फुल भाडाको २० प्रतिशत छुट पाउने र अन्यले उक्त छुट नपाउने अध्यक्ष बास्कोटाले बताए ।

आउँदो आर्थिक वर्षदेखि एम्बुलेन्सका लागि अझ बजेट वृद्धि गरिने र वडाबासीलाई अझ सहुलियत प्रदान गर्ने लक्ष्य लिइएको अध्यक्ष बास्कोटाले बताए ।

एम्बुलेन्स आवश्यकता परे ९८४२७५८६४०, ९८४२६६४४९०, ९८५२६८३३२२ र ९८१३०१३४१२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।