आजै मन्त्री बन्दै दुर्गा चापागाईँ

तेह्रथुम, २९ पुस । आज प्रदेश – १ का मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदैछन् । उनले दिउँसो १ बजे प्रदेसभाको बैठकमार्फत विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री दावी गर्दा उनलाई  ६० सांसदको समर्थन थियो । सोही आडमा उनी आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरुको समर्थन थियो । ९३ सदस्यीय प्रदेशसभामा उनलाई ६० सांसदको समर्थन मिलेको हो।

उनले सोही दिन सानो आकारको मन्त्रिमण्डलसमेत विस्तार गरेका थिए । तर माओवादीले केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो । तर बिहीबार केन्द्रले एमाले नेतृत्वको सरकारमा सहभागी हुन निर्देशन दिएपछि माओवादी प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

मन्त्री बन्नै लागेका थिए दुर्गा चापागाईँ, तर…

आजै मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गर्ने र माओवादीबाट पनि २ मन्त्री थपिने स्रोतले बताएको छ । जसमा प्रचण्डका ज्वाइ जीवन आचार्य मन्त्री हुने पक्कापक्की छ । त्यस्तैगरी तेह्रथुम प्रदेशसभा – २ बाट निर्वाचित सांसद दुर्गाप्रसाद चापागाईँ पनि मन्त्री हुने निश्चित भएको स्रोतको दावी छ ।

चापागाईँ यसअघि नै मन्त्री बन्ने दौडमा थिए । तर माओवादी तत्काल सरकारमा जाने नभएपछि उनी ब्रेक भएका थिए । माओवादीले ३ मन्त्रालय पाउने भएपनि मन्त्री छनौटमा विवाद भएपछि हाललाई २ जनालाई मात्रै मन्त्रीमा पठाइन लागेको हो ।

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले ३ सदस्यीम मन्त्रिमण्डल विस्तार गरिसकेका छन् । तर ती मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।