को हुन् तेह्रथुमबाट निर्वाचित भई मन्त्री बनेका दुर्गा चापागाई ?

तेह्रथुम, १ माघ । तेह्रथुम प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद दुर्गाप्रसाद चापागाईं प्रदेश सरकारको मन्त्री बनेका छन् । चापागाईंले शुक्रबार मन्त्रीको शपथ लिएपनि मन्त्रालय भने तोकिएको छैन ।

२०७० मा संविधानसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बनेका चापागाईं यसपटक प्रदेशसभा सदस्य निर्वाचित भए । पहिलो पटक चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका ४० वर्षीय चापागाईं पहिलो पटकमै मन्त्री बनेका छन् । उनले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका छन् ।

युवा उमेरमै चुनाव जितेर राजकीय जिम्मेवारी पाएका चापागाईंको लागि जिल्लाको राजनीतिमा नयाँ शिराबाट संगठन गर्ने र राजनीतिक नेतृत्वमा उदय गर्ने अवसर मिलेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् पूर्व प्रदेशसभा सदस्य तेजमान कन्दङ्वालाई पराजित गर्दै प्रदेशसभा सदस्य बनेका थिए ।

उनी निर्वाचित भएको क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । गएको निर्वाचनमा यो क्षेत्रबाट एमालेले नै जितेको थियो । तर, यसपटक भने चापागाईंले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव जिते ।

आठराई गाउँपालिकाको छातेढुंगामा २०३९ सालमा बुवा लक्ष्मीप्रसाद चापागाईं र आमा खिनामाया चापागाईंको कोखबाट जन्मिएका चापागाईंले यहीको पोखरी मावि र तेह्रथुम बहुमुखी क्याम्पसबाट पढाई पूरा गरेका हुन् । १७ वर्षमै सशस्त्र जनयुद्धमा समावेश भएका चापागाईं विद्यार्थी उमेरदेखि नै माओवादी केन्द्रको संगठन निर्माणमा सहभागी भए ।

चापागाई २०५१ सालमा अनेरास्ववियुको प्रारम्भिक इकाइ कमिटी सदस्य बनेका थिए । ०५४ मा अनेरास्ववियु पाचौं इलाका कमिटीको सहसचिव, ०५६ मा अनेरास्ववियु ९क्रान्तिकारी० क्याम्पस इकाई समितिको अध्यक्ष तथा जिल्ला सदस्य हुँदै उनी ०५७ मा अनेरास्ववियु ९क्रान्तिकारी० को जिल्ला अध्यक्ष भए । ०६० मा उनी अनेरास्ववियु ९क्रान्तिकारी० को केन्द्रिय समिति सदस्य र ०६१ मा जनमुक्ति सेना नेपालको कम्पनी कमिस्नर भएर काम गरे ।

२०५७ मा नेकपा माओवादी केन्द्रको सदस्यता लिएका उनले तत्कालै एरिया कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । उनी २०५८ मै माओवादीको जिल्ला कमिटी सदस्य र एरिया सेक्रेटरी भए । २०६१ मा मेची–कोशी क्षेत्रीय व्युरो सदस्य भए । २०६२ मा कोशी उप–व्युरो कार्यालय सचिव हुँदै २०६३ मा पार्टीको जिल्ला सेक्रेटरी भए ।

२०६७ मा तत्कालिन एकिकृत नेकपा ९माओवादी० को जिल्ला इन्चार्ज बनेका उनी ०७० मा माओवादीबाटै संविधानसभा सदस्यको उम्मेदवार भएपनि पराजित भए । ०७१ मा पार्टीको जिल्ला अध्यक्ष भएका उनले ०७२ मा पार्टीको केन्द्रिय सदस्य, पोलिटव्युरो सदस्य र जिल्ला इन्चार्जको समेत जिम्मेवारी पाए ।

२०७५ मा माओवादी र नेकपा एमालेबीच पार्टी एकीकरण हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य र जिल्ला सहइन्चार्ज थिए । माओवादीमा उनी तेह्रथुममा संगठन निर्माणको जग बसाल्ने नेताको रुपमा चिनिन्छन् । वर्षमान पुन ऊर्जामन्त्री हुँदा उनको स्वकीय सचिव भएरै काम गरेका उनले त्यसबेला उज्यालो तेह्रथुम अभियान चलाएका थिए ।

चापागाईले जनयुद्धकै समयमा धनरुपा कार्की (सिमा)सँग विवाह गरेका थिए । माओवादीको जनमुक्ति सेनामा कार्यरत उनले २०६२ सालमा सहादत प्राप्त गरकी थिइन् । सिमाको परिवारका अधिकांश सदस्य जनयुद्धमा सहभागी थिए । श्रीमतीको सहादतपछि चापागाईले जनयुद्धमै सहभागी सिमाकै बहिनी इन्दिरा कार्कीसँग दोस्रो विवाह गरेका हुन् । उनकी श्रीमती र २ छोरा छन् ।

हाम्रो मत डटकमबाट