को हुन् नवनिर्वाचित सभामुख घिमिरे ? जो ०३५ सालमै नेकपा तेह्रथुम र पाँचथर संगठक थिए

काठमाडौं, ०६ माघ ।  प्रतिनिधिसभा सभामुखमा निर्वाचित देवराज घिमिरे ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३ मा १३ जेठ २०१३ मा जन्मिएका हुन् । उनी हाल झापा अर्जुनधारा नगरपालिका–६ का स्थायीबासी छन् ।

स्नातकसम्म अध्ययन गरेका घिमिरेले बाल्यकालमा स्थानीय श्रीसिंहदेवी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरे । पछि, ताप्लेजुङको भानु पब्लिक हाइस्कुलबाट उनले २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गरेका छन् ।

२०३१ सालमा ‘झापा विद्रोह’पछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको विद्यार्थी राजनीतिमा लागे ।

२०३३ सालपछि शिक्षासमेत थाँती राखेर पार्टी संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत अवस्थामै २०३५ भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

११ पुस २०३५ मा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्ला पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृत एकीकरणपछि सम्पन्न नेकपा ९एमाले०को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै २०५० सालमा नेकपा एमाले मेची अञ्चल इन्चार्ज भएर घिमिरेले काम गरिसकेका छन् ।

२०५८ सालमा एमाले केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघ इन्चार्जको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् ।

२०७५ सालमा तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बनेका उनी भूमिगत राजनीतिमा रहँदा पञ्चायती शासकले गतिविधि नियन्त्रणका लागि पटकपटक पक्राउ पुर्जी जारी गरेको थियो ।

२०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका घिमिरे २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!