तेह्रथुम, १७ माघ । । आठराई गाउँपालिका वडा ६ चुहानडाँडालाई कवर्डहल निर्माण गर्नका लागि स्थानीय लक्ष्मी प्रसाद सिटौलाले ३० लाख बराबरको जग्गादान गरेका छन ।
सिटौलाले चुहानडाँडा बजारस्थित तेह्रथुम बहुमुखी क्याम्पस जाने बाटोको केही तलतिर र स्वास्थ्य चौकीभन्दा माथि पर्ने उक्त जग्गा वडालाई दान गरेका हुन् ।
जग्गाधनी सिटौलाले आफ्नो धनिपूर्जामा भएको कित्ता नम्बर ९१० को १-१४-३-१ जग्गा कवर्डहल निर्माणका लागि वडालाई निशुल्क प्रदान गरेको वडाध्यक्ष कृष्णप्रसाद बास्कोटाले साझा चासोलाई बताए ।
सोमबार मालपोत कार्यालय संक्रान्तिबजारमा उपस्थित भइ सिटौलाले आधिकारिक रुपमा वडालाई नामसारी गरिदिएका हुन् ।
नामसारीपछि वडाध्यक्ष बास्कोटाले जग्गादाता सिटौलालाई वडा र वडावासीको तर्फबाट सम्मान व्यक्त गरेका छन् ।
बास्कोटाले भनेका छन्, ‘दानवीर तथा समाज सेवी लक्ष्मीप्रसाद सिटौला (एलपी)लाई वडा कार्यलय को तर्फबाट र वडा बासीको तर्फ बाट हार्दिक सम्मानका साथ कृतज्ञता व्यक्त गर्दछु।’