- सुमन आचार्य
तेह्रथुम, १३ फागुन । तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई
गाउँपालिकाले सहयोग प्रदान गरेको छ ।
तत्काल प्रति परिवार नगद रू ३०,०००, दैनीक उपभोग्य वस्तुहरू चामल ५० केजी, दाल १० केजी, आलु ५ केजी, नुन २ केजी, चाउचाउ १ कार्टुन, चिनि २ केजी, चियारङ १ प्याकेट,प्याज २ केजी , लत्ताकपडाहरू राहत स्वरूप वितरण गरिएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभएको छ ।
शुक्रबार दिउँसोबाट लागेको आगोबाट तीन करोड बढिको क्षेति भएको गाउँपालिका अध्यक्ष पाहिमले जानकारी दिए
आगलागी भएको करिव १२ घण्टापछि फिदिम नगर पालिकाको दमकल, प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा राति ३ बजे आगलागी नियन्त्रणमा आएको थियो ।
भीषण आगलागीबाट चुहानडाँडाको हातिखर्कको तल्लो बस्ती नै सखाप भएको छ । १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।
आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।
तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट सोम बहादुर तामाङ, विरधन घिसिङ, आस बहादुर घिसिङ, भिम बहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।
दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमर बहादुर वाइबाको घरमा बस्दै आएका लामामणी तामाङको घर संगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ ।
त्यस्तै राई बहादुर तामाङ, डिकमान तामाङ, संखर योञ्जन, जस बहादुर घिसिङ र भक्त बहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया भने जलेर मरेका छन् । आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हातिखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घरहरू भएकाले बस्ती सखाप हुदाँ ठूलो क्षतिभएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।
तमोर नदि किनारको जंगलबाट सुरूभएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति हुन पुगेको हो ।