तेह्रथुम, ८ चैत । छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आएका ३४ परिवारलाई ५ लाख रुपैयाँ नगद दिएर गाउँपालिकामा स्वागत गरेको छ ।
बसाइँ सरेर आएका परिवारलाई व्यवसायिक प्रस्तावनाका आधारमा गाउँपालिकाले नगदसहित स्वागत गरेको हो ।
बसाइँसराइले गाउँ रित्तिन थालेपछि छथर गाउँपालिकाले अन्यत्रबाट आफ्नो गाउँपालिकामा बसाइँ सरी आउनेलाई व्यवसायिक प्रस्तावनाको आधारमा ५ लाख रुपैयाँ दिने नीति लिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
व्यवसाय गर्न अनुदान रकमसमेत पाउने भएपछि पूर्वका विभिन्न जिल्लाबाट ३४ परिवार छथर क्षेत्रका विभिन्न वडामा बसाइँ सरी आएको गाउँपालिकाले जनाएको छ । छथर गाउँपालिकामा बसाइँ सराई दर उच्च छ । बसाइँ सराई दर रोक्न र जनसंख्या सन्तुलन कायम गर्न पनि यस्तो नयाँ उपाय निकालिएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए । गाउँपालिकाको जनसंख्या १६ हजार ७ सय १५ छ ।
आफ्नो पुर्ख्यौली जमिन बाँझै छोडेर गाउँले बसाइँ हिँड्न थालेपछि बस्तीमा वर्षेनि जनघनत्व घटिरहेको छ । जनसंख्या घट्दै जाँदा समग्र गाउँपालिकाको विकास निर्माणमै असर परेकाले जनसंख्या बढाउन पनि यस्तो उपाय निकालिएको अध्यक्ष लिम्बुको भनाइ छ ।
‘गाउँका बस्ती रित्तिँदै जान थालेपछि बाहिरबाटै भए पनि मान्छे ल्याएर राख्न यस्तो उपाए निकालेका हौं,’ अध्यक्ष लिम्बुले भने ‘अनुदान रकम चाहिँ यहीँ आएर व्यवसाय गर्नेहरुका लागि मात्र हो ।’
बसाइँ सरी आउनेले बसाइँ सरी आएको प्रमाणपत्रको साथमा व्यवसायिक योजना पनि साथैमा लिएर आउनु पर्ने अध्यक्ष लिम्बुले बताए ।
यसरी बसाइँ सरी आउनेले व्यवसायको प्रकृति र विस्तारको आधारमा किस्ताबन्दीका रुपमा अनुदान रकम पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
गाउँपालिकाले कृषि व्यवसाय गर्न चाहानेहरुलाई पहिलो प्राथमिकतामा राखेर अनुदान रकम दिने व्यवस्था मिलाएको छ ।
कृषि, निर्माण क्षेत्र र उद्यम व्यवसाय गर्ने जनशक्ति नै गाउँबाट बाहिरिएपछि गाउँपालिकाको उन्नतिमा नै असर परेको जनप्रतिनिधिको बुझाइ छ । जनसंख्या नभएको बस्तीमा विकास गर्न पनि असम्भव भएकाले जनसंख्या भित्र्याएउनु पर्ने बाध्यता रहेको प्रवक्ता नेपाली बताउँछन् ।
बसाइँ सरेर आउँदा नगद ५ लाख रुपैयाँ पाएपछि संखुवासभाका दाछिरी शेर्पा निकै खुसी देखिएका छन् । उनी संखुवासभाबाट बसाइँ सरेर छथर गाउँपालिका १ आङदीमको डङडङेमा आएर बसेका छन् ।
गाउँपालिकाले दिएको ५ लाख रुपैयाँले श्रीमति सरिता शेर्पाको साथमा उनले होटल र किराना पसल मज्जाले चलाएका छन् ।
यो खबर कान्तिपुर दैनिकमा चन्द्र कार्कीले लेखेका छन् ।