तेह्रथुम, १० चैत । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका लिम्बूवान नेताको उपचारको क्रममा निधन भएको छ ।
कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको हो ।
गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएको उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो । प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी चैत ८ गते अचनाक बेहोस भएको थिए ।
४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका – ९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।
प्रदेश – १ को नाम कोशी राखिएपछि विभिन्न पहिचानवादी दलहरुकाले विभिन्न स्थानमा विरोध तथा प्रदर्शन गरिरहेका छन् ।
२०७९ साल फाल्गुण १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतमार्फत कोशी प्रदेश नाम पारित गरेको थियो ।