मृतक पदम लिम्बूको परिवारलाई ३ लाख राहत दिने कोशी प्रदेशको निर्णय

तेह्रथुम, १३ चैत । कोशी प्रदेशको नामाकरण खारेजीको माग गर्दै आन्दोलनमा उत्रिँदा प्रहरीको लाठी चार्जबात मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को परिवारलाई क्षतिपूतिवापत ३ लाख दिने निर्णय भएको छ ।

कोशी प्रदेश सरकारले उक्त रकम पीडित परिवारलाई दिने निर्णय गरेको हो ।

गत चैत ५ गते विराटनगरमा आयोजित प्रदर्शनमा प्रहरीको लाठी टाउकोमा लागेर गम्भीर घाइते भएका लिम्बूको चैत १० गते उपचारको क्रममा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।

४२ वर्षिया लिम्बू संघीय लिम्बुवान मञ्चका केन्द्रीय सह–कमान्डर थिए ।

‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछौँ । तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने,’ प्रदेश सरकारको निर्णयमा भनिएको छ ।