फिदिममा कार दुर्घटना, एकको मृत्यु, २ घाइते

पाँचथर, १८ चैत । पाँचथरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत फिदिम–इलाम सडक खण्डमा पर्ने पाँचथर फिदिम नगरपालिका ३ कान्छी दोकानमा प्रदेश १–०१–००१ च ९३४९ कार दुर्घटनामा परेको हो ।

झापा देखि ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्नका लागि जाँदै गरेको उक्त कार के कारणले दुर्घटनामा परेको भन्ने खुल्न नसकेको पाँचथर प्रहरीले बताएको छ ।

कार राति करिब ८ बजे सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । मृत्यु हुनेमा झापा बिर्तामोड– १ निवासी १८ वर्षीय रश्मीट भुजेल रहेको जनाइएको छ

उनको उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो । अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सीता भुजेल र लिला भुजेल रहेका छन् ।

उनीहरुको उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । उक्त कारमै सवार १३ वर्षीय राजमोहन भुजेल सकुशल रहेको प्रहरीले जनाएको छ ।