गुरुङले भनिन्– चुहानडाँडा एयरपोर्टको फाइल अड्कियो, भोलि नै अघि बढ्छ: किराँती

काठमाडौं, २३ चैत ।। सहरी विकासमन्त्री सीता गुरुङसहित तेह्रथुमका जनप्रतिधिले चुहानडाँडा विमानस्थल निर्माणको काम अघि बढाउन ध्यानाकर्षण गरेका छन् ।

जिल्लाबाटै काठमाडौं आएका उनीहरुले सहरी विकासमन्त्री सीता गुरुङलाई साथै लिएर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका थिए ।

मन्त्रालयमा मन्त्री सुदन किराँतीलाई भेटेर चुहानडाँडा एयरपोर्ट निर्माणमा भएको ढिलाइप्रति गुनासो व्यक्त गरे । सो क्रममा मन्त्री गुरुङले चुहानडाँडा एयरपोर्टको फाइल मन्त्रालयमै अड्किएर बसेको मन्त्री किराँतीलाई सुनाइन् ।

मन्त्री गुरुङले हवाइ उड्डयन महाशाखामा चुहानडाँडा विमानस्थलको फाइल अड्किएकोले अब जसरी भए पनि उक्त प्रक्रिया अगाडि बढाउनु पर्ने बताइन् ।

उनले आफूनै मन्त्रालयको कर्मचारीलाई भेट्न जाँदा फाइल अड्किएको पाएको तर उसले फाइलको काम अघि बढाउन आग्रह गर्दा ती कर्मचारीले आनाकानी गरेको बताइन् । तर अब जसरी भएपनि काम अघि बढाउनका लागि पहल गर्न मन्त्री गुरुङले मन्त्री किराँतीलाई आग्रह गरिन् ।

मन्त्री किराँतीसामू मन्त्री गुरुङले भनिन्, ‘त्यो फाइल मन्त्रालयको कर्मचारी बुद्धिसागर लामिछानेसँग छ । उहाँले मन्त्रीजीसँग नभेटि हुँदैन भन्नुभएको छ। त्यसपछि सबै अध्ययन भएर अघि बढीसकेको छ । यहाँबाट स्वीकृत भएर वन मन्त्रालयमा पठाउनु पर्यो ।’

मन्त्री गुरुङले थप भनिन्, ‘ती कर्मचारीले विमानस्थलको कागज आँफै लिएर चाही आउँदैनन् । तपाइँले नै झिकाएर भन्नु पर्यो ।’

जवाफमा मन्त्री किराँतीले विमानस्थलका लागि आफूले गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा किन रोकियो र किन भएन भन्नेमा जवाफदेही नभएपनि आउँदो दिनका लागि भने जिम्मेवार भएको जवाफ दिए ।

‘मन्त्रालयमा म नयाँ हो। किन रोकिएको हो भन्नसक्ने अवस्था छैन’, मन्त्री किराँतीले भने, ‘मन्त्रालयमा अब फाइल रोकिँदैन। भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ।’

चुहानडाँडा विमानस्थल निर्माणको चर्चा २०३२ सालदेखि भएपनि अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।

विमानस्थलको सर्वेक्षण र सम्भाव्यता अध्ययन भने भइसकेको छ। विमानस्थल निर्माण पहलका लागि तेह्रथुमबाट आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसहितको टोली काठमाडौं आएको थियो । उनीहरुसँगै तेह्रथुमबाटै निर्वाचित सांसद तथा वर्तमान सहरी विकासमन्त्री सिता गुरुङ पनि मन्त्री किराँतीलाई भेट्न मन्त्रालय पुगेका हुन् ।