तेह्रथुम, ०६ बैशाख । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ स्थित शारदा माविको पुरानो भवन भत्काउने क्रममा किचिएर ५ जना घाइते भएका छन् ।
गोर्खा वायलफेरले विद्यालयको नयाँ भवन बनाइदिएपछि पुरानो भवन भत्काउने क्रममा बुधबार १२ बजेतिर ५ कामदार किचिएको वडाध्यक्ष कृष्ण बास्कोटाले साझा चासोलाई बताए ।
घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि झापा लगिँदै गरेको अध्यक्ष बास्कोटाले बताए ।
५ कामदार दोस्रो तल्लाको गारो भत्काउने काम गरिरहेका बेला अचनाक मुख्य बलो भाँचिएर सबै कामदार पुरिएर घाइते भएको उनले बताए ।
घाइतेहरु आठराई ६ चुहानडाँडाका उदयनारायण बास्कोटा, टिकाराम रोका, महेन्द्र बास्कोटा, नविन गहतराज र भेषराज तिवारी घाइते रहेका छन् ।
जसमध्ये टिकाराम र उदयराज बास्कोटाको अवस्था गम्भीर रहेको वडाध्यक्ष बास्कोटाले बताए ।
टिकाराम हातमा गम्भीर चोट र उदयराजको मेरुदण्ड र टाउकोमा चोट लागेको बताइएको छ ।
अन्यको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुको पाँचथर अस्पतालमै उपचार भइरहेको छ ।
समाचार सामग्री : कृष्ण कन्दङ्वा