तेह्रथुम, १६ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आठराईको विकासका लागि आफूले दिल खोलेर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जिल्लाको आठराई गाउँपालिका ४ इवामा आफ्नै पहलमा निर्मित तेह्रथुम बहुप्रविधिक शिक्षालयको भवन उद्घाटन गर्दै सो प्रतिबद्दता व्यक्त गरेका हुन् ।
आफ्नो जन्मस्थानसमेत रहेको स्थानमा उनको पहिलमा इवामा प्राविधिक शिक्षलय स्थापना भएको हो ।
उक्त कार्यक्रममा बोल्दै उनले आठराईमै प्राविधिक शिक्षालय स्थापना हुनु खुसीको कुरा भएको बताए । त्यसका अलावा आठराईमा विभिन्न पूर्वाधारहरु निर्माण भइरहेको उल्लेख गरे ।
उनले आठराईमा पानी, विजुली, सडक र शिक्षाका पूर्वाधारहरु मनग्यरुपमा विकास गरिरहेको दावी गरे ।
‘हामी सम्पूर्ण विकासका पूर्वाधार निर्माणमा लागि परिरहेका छौँ। मलाई खुसी लागेको छ । सिम्ले स्कुल बन्दै होला । पोखरी स्कुल केही प्राविधिक कारणले पछि परेको होला,’ उनले भने, ‘यो शिक्षालय ९ महिनाभित्र तयार भयो । यतिछिटो काम हुन सक्दो रहेछ ।’
उनले थपे, ‘यहाँ बाटो घाटोको समस्य छैन यो दुर्गम ठाउँ रहेन । पीचबाटोबाट करिब ५ किमी टाढा होला ।’
उनले इवा साँघु मेवाखोला सडक पनि चाँडै पिच गर्ने गरी तयारी भइरहेको बताए ।
अध्यक्ष ओलीले यसअघि नै त्यसको तयारी भएपनि केही कारणले रोकिएको बताए । सो कारण थाहा नभएपनि आफूहरुले त्यसका लागि पहल गर्ने प्रतिबद्दता जनाए ।
अस्पताल निर्माण गर्नका लागि पनि आफूले सकेको सहयोग गर्ने बताए ।
‘अस्पताल बनाउन चाहनुहुन्छ भनेपनि बनाउनुस् । जग्गा उपलब्ध गराउने काम मेरो । बजेटपनि उपलब्ध गराउँछु। अन्य कुरा तपाईँहरुले गर्नुपर्यो, उनले भने, ‘मागपत्र तयार तपाईहरुले गर्नु पर्यो । के गर्नुपर्छ भन्नुहोला । दिल खोलेर मन खोलेर म सहयोग गर्न तयार छु’
अध्यक्ष ओलीको आफ्नो जन्मथलो आगमनका क्रममा केही पहिचानवादीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए ।
एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेश १ को नाम कोशी राखेपछि ओलीविरुद्द नारा लगाइएको हो ।