तेह्रथुम, ९ असार । तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता भएका छन् । धनकुटाको साँगुरीगढी ९ दिलुङटारस्थित तमोर नदीमा शुक्रबार दिउँसो मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर झरेपछि तमोर नदीले इन्जिनियर बगाएको हो ।
बेपत्ता हुनेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका – ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेका छन् ।
प्रहरीका अनुसार दिउँसो ३ बजेतिर पुल निर्माणका लागि ढुंगामा चढेर नापजाँच गर्ने काम भइरहेको थियो । सोही बेला उनी चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनी गत मंगलबार मात्रै ६ जना साथीहरुसहित प्रयोगात्मक अभ्यासका धनकुटा पुगेको बताइएको छ ।
उनी काठमाडौंको थापाथली क्याम्पसमा पढ्दै आएका थिए । हाल उनको खोजी कार्या भइरहेको छ । यद्यपि उनी फेला पर्न सकेका छैनन् ।