कोशी प्रदेश सरकारमा माओवादी किन सामेल भएन ? दुर्गा चापागाई मन्त्री नबन्ने

काठमाडौं । केन्द्रीय सरकारको मर्मअनुसार कोशी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार गठन भएको छ । माओवादी केन्द्र र जसपासहितको समर्थनमा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापा यही असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर लिएर बहुमत देखाएपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई २१ गते नै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि एमाले नेतृत्वमा रहेको प्रदेश सरकारबाट माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि नयाँ सरकारक गठन भएको हाे ।

नवनियुक्त मुख्यमन्त्री थापाले शुक्रबार नै मन्त्रीपरिषद विस्तार समेत गरेका छन् । मुख्यमन्त्री थापाले पाँचथर प्रदेशस सभा ख बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जवेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट प्रदिप कुमार सुनुवारलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । उता सत्ता गठबन्धनमै रहेकाे माओवादी केन्द्रले भने मन्त्रीमा कस्लाई पठाउने भन्ने विषय टुंगो लगाउन नसक्दा मन्त्रिपरिषदमा उपस्थिति जनाइसकेको छैन ।

स्रोतका अनुसार मन्त्रीको नाम टुङ्गो लगाउन संसदीय दलका नेता, प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मा दिइएको छ ।

प्रदेश माओवादी केन्द्रमा यतिबेला पहिले मन्त्री भइसकेकालाई दोहोर्याउने वा अन्य नयाँ अनुहार पठाउने भन्ने विषयमा बहस चलिरहेको छ । यद्यपि यसअघि मन्त्री बनिसकेको जीवन आचार्यलाई पुन: पठाने निर्णय भइसकेको चर्चासमेत चलिरहेको छ । तर यसको औपचारिक निर्णय भने बाहिरिएको छैन ।

यहीबीच तेह्रथुम प्रदेश ख बाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गा चापागाईँले आफू यसअघिको सरकारमा सहभागी भइसकेकोले पुन: मन्त्री नबन्ने स्पष्ट पारेका छन् ।

उनले प्रदेश संसदीय दलभित्र आलोपाल गरौँ भन्ने सुझावलाई आत्मासात गर्दै आफू यो पटक सरकारमा नजाने निष्कर्षमा पुगेको बताएका छन् । उनी निवर्तमान मन्त्री समेत हुन् ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार कोशी प्रदेशमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने निर्णय भएको छ ।

उता गठबन्धन भित्रकै अर्को दल जसपाले भने मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालय लिने जनाएको छ । कोशी प्रदेशमा जसपाको एकमात्रै सांसद रहेको छ ।