आठराई : श्रीमतीको शव सुँगुरको खोरमा, श्रीमान झापाबाट पक्राउ

तेह्रथुम, २८ साउन । आठराई गाउँपालिकाको संक्रान्तिबजारस्थित डाँडागाउँकी सम्पर्कविहीन २४ वर्षीया रेसिका श्रेष्ठ ‘दमन्ता’को शव सुँगुरको खोरभित्र पुरिएको अवस्थामा फेला परेको छ ।

गत साउन १४ गतेदेखि सम्पर्कविहीन भनिएकी श्रेष्ठको शव उनकै पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्पर्कविहीन एको खबरपछि उनको खोजी तीव्र बनाइएको थियो । खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको अवस्था शनिबार दिउँसो शव फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको थियो ।

त्यसपछि उनको शव उठाउनका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पुगेको हो ।

त्यस्तै दमन्ताको श्रीमान् राजकुमार श्रेष्ठ पनि साउन २४ गतेदेखि घरबाहिर थिए। तर आफ्नी श्रीमती हराएको भनी उनी आँफैले साउन १५ गते ईलाका प्रहरी कार्यालयमा सूचना दिएका थिए । तर त्यसपश्चात राजकुमार पनि एकाएक सम्पर्कविहीन भएका थिए ।

प्रहरीले उनीहरुको खोजी गर्नेक्रममा दमन्ताको शव फेला पारेको हो भने उनका श्रीमान राजकुमारलाई पनि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।