तेह्रथुम ३१ साउन। तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता)को ज्यान उनकै श्रीमानले लिएको अनुसन्धानबाट खुलेको छ ।
रेसिकाको शव सुँगुरका खोरमा पुरिएको अवस्थामा भेटिएपछि उनको श्रीमानलाई गत शनिबार झापाको एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई प्रहरीले सोधपुछ गर्दा आफूले नै श्रीमतिको ज्यान लिएको स्वीकार गरेपछि उनलाई सार्वजनिकसमेत गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमान राजकुमारले गत साउन १४ गते श्रीमती रेसिकाको ज्यान लिएका थिए । त्यसपछि उनी आँफैले शव सुँगुरको खोरमा पुरेर इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा आफ्नी श्रीमति हराएको भनि सूचना दिएर आफू फरार भएका थिए ।
त्यसपछि उनी एक बाइक प्रयोग गरि झापातर्फ लागेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई काकडभित्ताको एक होटलबाट पक्राउ गरेको थियो ।
घरायसी विवादमा श्रीमान–श्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरी समक्ष राजकुमारले वयान दिएको बताइएको छ ।
श्रीमतीको मृत्यु भएपछि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको प्रहरीको भनाइ छ ।
रेसिकाको ज्यान लिएको १३ दिनपछि मात्र प्रहरीले शव फेला पारेको थियो मृतकको साउन २८ गते अन्तिम दाहसंस्कार समेत गरिएको थियो ।
राजकुमारलाई जिल्ला अदालतमा म्याद थप गरि प्रहरीले अझै अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।