- सुमन आचार्य
तेह्रथुम, १, मंसिर । पूर्वकै ऐतिहासिक आठराई दीपावली मेला आठराई गाउँपालिका ५ छातेढुङ्गा तेह्रथुममा मंसिर २ अर्थात भोलिदेखि सुरु हुँदै छ ।
मङ्सिर ८ सम्म लाग्ने मेलामा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक समितिका सन्तोष कन्दङ्वाले जानकारी दिए ।
बि.सं. २०३९ सालबाट नियमित रुपमा लगाउँदै आइएको मेलाले यसपाली पनि निरन्तरता पाएको हो ।
गत साल मंसिरमा भने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको भएको कारण मेला स्थगित गरिएको आयोजकले बताएको छ ।
यसपाली दीपावली, छठ तथा उधौली उभौली पर्वको अवसरमा विभिन्न विधाका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताएको छ ।
भगवती कप तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल, नारायण र ईश्वरा संग्रौला समृति रनिङ कप पालिका स्तरीय खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल प्रतियोगिता संचालन हुने भएको छ।
यस्तै खुल्ला महिला फुटबल प्रतियोगिता अन्तर्गत महेन्द्र कन्दङवा स्मृति रनिङ कप, चेश प्रतियोगिता, व्यामिन्टन पुरुष तथा महिला र धान नाच प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
आयोजकका अनुसार भगवती कप तथा पदम थापा कपको विजेता १ लाख ५० हजार र उपविजेताले नगद १ लाख रुपैँया प्राप्त नर्ने छ भने सेमिफाईनलबाट बाहिरिनेट टिमले २५–२५ हजार रुपैँया प्राप्त गर्नेछन् ।
यस्तै नारायाण तथा ईश्वरा संग्रौला कपको प्रथम ले नगद ८० हजार र द्धितियले ५० हजार प्राप्त गर्नेछन् ।
खुल्ला महिला भलिबलतर्फको विजेतालाई ७० हजार र उपविजेताले ४० हजार प्रदान गरिने आयोजकले बताएको छ ।
महिला फुटबल खुल्ला महेन्द्र कन्दङवा स्मृति कपको विजेताले ८० हजार र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै चेस, ब्याडमिन्टन र धान नाच प्रतियोगिताको विजेता, उपविजेतालाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले समितिले जानकारी दिएको छ ।