अमेरिकामा याक्थुङहरुको पहिचान जोगाउन चुनौती छ, तर पछि हट्नु हुन्न : टङ्क सेलिङ

न्यूयोर्क, ७ पुष । आदिवासी जनजाति लेखक सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङले आफ्नो संस्कार, संस्कृति र भाषालाई विश्वव्यापीकरण गर्न सबै याक्थुङ (लिम्बू)हरुलाई आग्रह गर्नुभएको छ ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्कमा आयोजना गरेको चासोक तङ्नाम विशेष कार्यक्रममा बोल्दै उहाँले आफ्नो पहिचान जोगाउनका लागि लागी पर्न आग्रह गर्नुभएको हो ।

अमेरिका जस्तो मुलुकमा बसेर आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन चुनौति भएपनि अहिलेको विश्वग्राम अवधारणा आएको बेला यो अनिवार्य रहेको सेलिङको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘अमेरिकामा आफ्नो पहिचान जोगाउन चुनौती छ । तर विश्व ग्रामको अवधारणा आएको बेला याक्थुङ्हरूको संस्कार, संस्कृति र भाषालाई विश्वव्यापीकरण गर्न सबै याक्थुङ र अमेरिकी नेपालीहरू लाग्नैपर्छ।’

त्यस्तै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ र गैर याक्थुङहरूमा विशेष शुभकामना व्यक्त गर्नुभयो । अमेरिकमा बसोबास गर्ने लिम्बू समुदायले यसपालिको चासोक तङ्नाम हसोल्लासका साथ भनाएका थिए ।

उक्त अवसरमा आयोजित शुभकामना आदान प्रदानको क्रममा बोल्दै फिप्ना अमेरिकाका अध्यक्ष लोक चेम्जोङले आदिवासी अन्तर्गत याक्थुङ जातिले नेपालमा हुने राजनीतिक परिवर्तन र आन्दोलनमा सहभागी हुने र सहयोग गर्नुपर्ने बताउनुभयो ।

किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि विवश बेनाम, चुम्लुङ नेपालका पूर्वमहासचिव लीला सिङ्गक, पूर्व चुम्लुङ अध्यक्ष वीरेन्द्रहाङ लाबुङ, पूर्व चुम्लुङ अध्यक्ष दीपेश खाम्बेक र युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका अध्यक्ष केशवराम राई लगायतको उपस्थिती रहेको थियो ।