रौतहट, ८ पुष । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सबै नागरिकलाई कोरोनाको खोप लगाउन अनुरोध गर्नु भएको छ।
रौतहट जिल्लाको वृदानन्द नगरपालिका ५ को नवनिर्मित स्वास्थ्य चौकी भवन उद्वघाटन समारोहलाई सम्बोधन गर्दै सरकारले सबै नागरिकहरुका लागि कोरोना खोपको व्यवस्था गरेको दावीसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सबै नागरिकले सरकारले तोके अनुसार कोरोना खोप लगाउन सबैलाई अनुरोध गर्दछु। पुष ७ गते सम्ममा ९७ लाख ३७ हजार ३ सय ३३ जना नागरिकले कोरोनाको फुलडोज खोप लगाई सकेका छन्।’
स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपालको कम्युनिष्ट आन्दोलनद्वारा प्राप्त उपलब्धिहरुको रक्षाको लागि नयाँ पार्टी नेकपा एकीकृत समाजबादी गठन गर्नु परेको बताउनु भएको छ।
राज्यमन्त्री खापुङले अर्को प्रसंगमा बोल्दै एमालेले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको चरम दुरपयोग भएको आरोपसमेत लगाउनुभयो ।
स्वास्थ्य चौकी उद्घाटनका लागि राज्यमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार पनि रौतहट पुग्नुभएको थियो ।
उहाँले पनि नेकपा एमाले कुनै एक ब्यक्तिको सनकले गर्दा कम्पनी जस्तै भएको आरोप लगाउनु भएको छ।
अध्यक्ष नेपालले कम्युनिस्टहरुको विधि सिद्धान्त नै बिर्सिएर राजनिति गर्न नसकिने भएकोले नयाँ पार्टीको स्थापना गर्नु परेको दावी गर्नुभयो ।