पाँचथर, ८ पुष । फिदिममा ‘जाँतो आर्गानिक’ संचालनमा आएको छ । कृषकहरुले उत्पादन गरेको खाद्यवाली तथा तरकारीहरुको प्रवद्र्धन तथा ‘ब्राण्ड’ बनाउने उदेश्यले ‘जाँतो अर्गानिक’ संचालनमा आएको हो ।
स्थानीय स्रोत साधनको सदुपयोगका साथै कृषकहरुलाई रोजगारी दिने उदेश्यले आफूहरुले ‘जाँतो अर्गानिक’ कम्पनी खडा गरेको संचालक भावना लिङ्देनले साझा चासोसँग बताइन् । कम्पनीले आगामी दिनमा नाफामूलक भन्दापनि सेवामूलक काम गर्ने लक्ष्य राखेको उनले बताइन् ।
विषेशगरी कम्पनीले कृषकले उत्पादन गरेका वस्तुहरु प्याकेजिङ गर्न मिल्ने अर्गानिक वस्तुहरुको प्रर्वद्धनका साथै बजारीकरण गरिने संस्थापक लिङ्देनको भनाइ छ । कोदो, फापर, ओखर, बदाम, दाल, बेसार, खुर्सानी जस्ता प्याकेजिङ गर्ने र बिस्तारै ब्राण्ड बनाउने चाहना रहेको उनले सुनाइन् ।
तत्काललाई कृषकहरुबाटै वस्तुहरु लिने र आगामी दिनमा आफै जग्गाको व्यवस्था गरेर उत्पादनसमेत गर्ने उनको भनाइ छ । हाल ‘जाँतो अर्गानिक’ले पाँचथरकै यासोक, तेह्रथुमको आठराई, नाङ्गिन, गोपेटार मेमेङ र जोरपोखरीबाट अर्गानिक वस्तुहरु संकलन गर्दै आएको छ ।
सुरुवाती समयमा कम्पनीले पाँचथरकै बजारहरु, इलाम र झापामा वस्तु निर्यात गर्नेछ । पछिल्ला दिनहरुमा प्याकेजिङ मात्रै नभर वस्तुहरुको ती वस्तुहरुबाट बन्ने हुने परिकारसमेत बनाउने र बजारीकरण गर्ने बताइएको छ । जस्तो तोरीबाट तेल, कोदोबाट विद्यार्थीहरुलाई खाजा हुनेगरी रोटी बनाउने जस्ता कार्यहरु गर्नेछ ।
बिहीबार फिदिममा पत्रकार सम्मेलनसमेत गरेर कम्पनीको काम, उदेश्य र लक्ष्यबारे जानकारी गराइएको थियो । संचारकर्मीसमेत रहेकी भावना लिङ्देन र दीपक ढुंगाना संचालक रहेको जाँतो अर्गानिकमा सुरुवाती लगानी ७५ हजार रहेको छ ।