विश्वभरका ख्रिष्टियन समुदायले ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं, १० पुष । आज विश्वभरका ख्रिष्टियन समुदायले क्रिसमस डे मनाउँदै छन् ।

येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ख्रिष्टियन धर्मवालम्वीहरुले बिशेष त यो पर्व मनाउने गर्दछन् । नेपालमा पनि क्रिसमस डे मनाउने मानिसहरुको संख्या बढ्दो छ ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको मानिन्छ ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएको भनिदै आएको येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घको भनाइ छ । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।

महासंघका अनुसार मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ ।