कालापानी लिपुलेकमा पहुँच पुर्‍याउदै देउवा सरकार, मतदाता नामावली संकलन गरिँदै

काठमाडौं, १३ पुस । भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि मतदाता नामावली संकलन हुने भएको छ । हाल देशभर चलिरहेको मतदाता नामावली अभियानका क्रममा उक्त क्षेत्रमा पनि नामावली संकलन हुने भएको हो ।

यसअघि सरकारले २०७८ को जनगणनामा पनि त्यहाँको संख्याको विवरण लिएको थियो । त्यस लगत्तै शेरबहादुर देउवा सरकारले आगामी निर्वाचनका लािग मतदाता नामावली संकलन गरिने गृहमन्त्रालयले जनाएको छ ।

जसका लागि भरपुर तयारी भइरहेको गृह स्रोतले जनाएको छ । निकै जोखिम सामना गरेर यसअघि तथ्याङ्क विभागले त्यस क्षेत्रको तथ्याङ्क लिएको थियो । गृहमन्त्रालयले भनेको छ, हामीले विभिन्न माध्यमबाट विवरण लिएका छौँ।

त्यसलगत्तै गृहले पनि भनेको छ, ‘त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।’

२०७७ साल जेठ ७ गते केपी शर्मा ओलीको नेतृत्वको सरकारले संससदबाट बहुमतसहित चुच्चे नक्सा सार्वजनिक गरेको थियो । तर प्रशासनिक कामहरु भने औपचारिक रुपमा नेपाल सरकारले गर्न सकेको थिएन। तर यो पटक देउवा सरकाले यसको थालनी गरेको छ ।

पहिले नेपाली भूमि रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा हाल भारतीय कब्जामा रहेको छ । यसलाई कुटनीतिक ढंगले नेपाल फिर्ता ल्याउन पहल जारी छ ।