एमाले तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत

तेह्रथुम, २५ पुस । नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन भएका छन् । एमालेको ११औँ जिल्ला अधिवेशनले कन्दङवालाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अध्यक्षका लागि पूर्वप्रदेश मन्त्री लछुमन तिवारी र किशोर चन्द्र दुलालले पनि अध्यक्षमा दावी गरेका थिए । तर उनीहरु अध्यक्षको दावीबाट पछि हटेपछि कन्दङवा सर्वसम्मत भएका हुन् ।

कन्दङवा प्रदेश तेह्रथुम क्षेत्र ख बाट निर्वाचित सांसद हुन् । त्यस्तै तिवारी पनि प्रदेश सांसद हुन् । तिवारी निवर्तमान तेह्रथुम अध्यक्ष हुन् । त्यस्तै कन्दङवा पनि एमाले पूर्व जिल्ला अध्यक्ष हुन् ।

जिल्ला कमिटीको उपाध्यक्षमा सञ्जय तुम्बाहाम्फे, सचिवमा शिव प्रसाद ढुंगाना र दुई उपसचिवमा गणेश सोदेम्वा र छत्र प्रसाद रिमाल सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ। जिल्लाको ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।