रुक्सानालाई जिताउन चुम्लुङ शाखा पथरी शनिश्चरेद्वारा अभियान, संकलित रकम बिहीबार बुझाइने

  • कृष्ण कन्दङ्वा

मोरङ, २७ पुस ।  किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरी शनिश्चरले रुक्साना लिम्बू जिताऔँ अभियान संचालन गरेको छ । शाखाले चर्चित रियालिटी शो ‘द भ्वइस किड्स’को फाइनलमा पुगेकी रुक्साना लिम्बूलाई जिताउन भोटको अपिलका साथै रकम संकलन अभियान संचालन गरेको हो ।

मंगलबारबाट चुम्लुङले रुक्साना लिम्बू जिताऔँ अभियान संचालन गरिरहेको हो । मंगलबार नै नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पथरी शनिश्चरे अन्तर्गतको खुला शत्रको अवसरमा व्यानरसहित प्रचारप्रसार गरिएको थियो ।

उक्त कार्यक्रममा फोनिज समितिका पदाधिकारीहरुमा पनि प्रचार गरिएको किरात याक्थुङ चुम्लुङ नगर शाखा सचिव प्रेम पयाङ्गुले बताउनुभयो ।

उहाँका अनुसार अभियानमा सबैलाई भोटको अपिल गरिनेछ । त्यस्तै सुभेच्छुक, सहयोगी संस्था तथा सहयोगी मनहरुबाट रुक्साना लिम्बूलाई जिताउन रकम संकलन गर्ने अभियान पनि रहनेछ ।

उक्त अभियानबाट संकलित रकम भने बिहीबारसम्ममा रुक्साना लिम्बूकी आमा रेखा लावतीको खातामा जम्मा गरिने सचिव प्रेम पयाङ्गुले बताउनुभयो । जतिसक्दो धेरै भोटको अपिल र धेरै रकम जुटाएर भोट गरि रुक्सानालाई जिताउने उदेश्य रहेको सचिव पयाङ्गुले बताउनुभयो ।

विभिन्न चरणमा उत्कृष्ट प्रस्तुति दिँदै रुक्साना लिम्बू टप ८ अर्थात फाइनल राउण्डमा पुगेकी छन् । उनलाई जिताउन देश तथा विदेश भरी अभियान चलिरहेको छ । टप ८ बाट अब एकै पटक विजेता छानिने भ्वइस किड्सले जनाएको छ । फाइनल यही शनिबार काठमाडौंमा हुनेछ ।

समाचार सामग्री : कृष्ण कन्दङ्वा