काठमाडौं, २ माघ । सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गरेर नयाँ वर्णमाला सार्वजनिक गरिएको भन्दै याक्थुङ लेखक संघ दक्षिण कोरियाले आपत्ति जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै संघले उक्त वर्णमाला तत्काल प्रयोग नगर्नसमे आग्रह गरेको छ । २०७८ शाल माघ १ गते किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको नामबाट नयाँ वर्णमाला सार्वजनिक भएको थियो । उक्त वर्णमालामा सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप-चिन्हहरुसेमत थपिएको संघको आरोप छ ।
‘२०७८ शाल माघ १ गते कथित किरात सिरिजङगा लिपि समायोजन विज्ञ कार्यदलको नामबाट हामीले प्रयोग गरिरहेको किरात सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण (अक्षर)हरु र उपचिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तिमा भिनिएको छ, ‘काठमाडौंको अँध्यारो कोठामा बसेर आम रूपले स्थापित लिपि निर्माणको सिद्धान्त र मान्यतालाई समेत ख्यालै नगरी लिपिलाई क्षतविक्षत गर्न र लिपिको सौन्दर्य भत्काउन वर्णमालामा हठात केही वर्ण (अक्षर)हरु र उप(चिन्हहरु आफूखुसी थपिनु प्राविधिक रूपले समेत गम्भीर त्रुटि भएको हाम्रो बुझाई छ । लिम्बू (याक्थुङ) भाषाको ध्वनिमा हुँदै नभएको वर्णहरु आफूखुसी निर्माण गर्ने कार्यले भाषा प्रयोगको हिसाबमा समेत जटिलता उत्पन्न हुनेछ।’
त्यस्तैगरी लिम्बू(याक्थुङ) भाषा र किरात सिरिजङ्गा लिपि मार्फत साहित्य सिर्जना गरिरहेका, पुस्तक पत्रपत्रिका, अनलाइन प्रकाशनरप्रशारण गरिरहेका समग्र याक्थुङ स्रष्टा, सर्जकहरुले आफ्नो लिपि आलेखनमा पर्याप्त छलफल र बहस विना केही व्यक्तिहरूको व्यक्तिगत निर्णयको आधारले सार्वजनिक गरिएको वर्णमालाका नयाँ वर्ण (अक्षर)हरु तत्काल प्रयोग नगर्नसमेत संघले सबैमा अनुरोध गरेको छ ।