एमसीसी तु पास गरौँ भन्दै प्रधानमन्त्री देउवा, छेक्दै प्रचण्ड-नेपाल

काठमाडौं, १८ माघ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।