काठमाडौं, २५ माघ । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाल सरकारले एमसीसी पारित गर्ने भन्दै पठाएको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको हस्ताक्षर प्रति प्रश्न उठाएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले सरकारका प्रधानमन्त्रीले गनुैपर्ने हस्ताक्षरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै प्रचण्डले पनि हस्ताक्षर गरेको भन्दै आपत्ति जनाएका हुन् । त्यस्तै प्रधानमन्त्री देउवाले एमसीसीकालाई पठाएको पत्रमा प्रचण्डको हस्ताक्षर गर्न दिएर पावर अफ स्टेटको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले पावर आफ स्टेटको दुरुपयोग गरे । एमसीसीलाई पठाएको पत्रमा हस्ताक्षर गर्ने अधिकार प्रचण्ड र माओवादीलाई कस्ले दियो प्रचण्डको हैसियत के रु प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको हैसियतमा हस्ताक्षर गरिरहँदा प्रचण्डले के हैसियतले हस्ताक्षर गरे रु यो गम्भीर प्रश्न हो । मलाई लाग्छ यो कानूनी रुपमा पनि कारवाही गर्नुपर्ने विषय हो । यो किन गरियो ?’ उनले भने ।
त्यस्तैगरी नेता बस्नेतले माओवादीले अन्तराष्ट्रिय क्षेत्रमा दोहोरो चरित्र देखाएको उल्लेख गरेका छन् । एकातिर लिखित पत्र पठाउँदै जाने, अर्कोतिर एमसीसी संशोधनविना पास गर्न सकिँदैन भनेर जनतामा भ्रम सृजना गरेको बस्नेतले आरोप लगाए ।
उने भने, ‘एकातिर दुईटा जिव्रो भएको प्रचण्ड र अर्को दुई मुख भएको माओवादी केन्द्र बनेको छ । पक्षमा भित्रभित्रै भूमिका खेल्दै जाने, विपक्षमा कहिले लिलामणी पोखरेललाई बोल्न दिने र कहिले देव गुरुङलाई बोल्न लगाउने । यसले प्रचण्डको गिर्दो छवीलाई अझ तिव्रता दिएको छ।’
प्रचण्डको यो प्रवृत्तिले अन्तराष्ट्रिय कुटनीतिलाई कमजोर बनाएको नेता बस्नेतले आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले सत्ता जोगाउन, गठबन्धन जोगाउन र एमालेलाई कमजोर बनाउने अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर प्रश्न उठाएको पनि नेता बस्नेतले बताएका छन् ।