कास्की, १३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनसँग एकै पटक भिड्ने मनस्थितिमा रहेको बताएका छन् ।
कास्कीको पोखरामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले किस्ता किस्तामा लड्ने मनस्थितिमा नभइ सिंगै पाँच ललिय गठबन्धनसँग एकै पटक लड्ने जिकीर गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शारीरिक हाउभाउका साथ भने, ‘गठबन्धन टुटेमा विचराहरु धुलो पिठो हुन्छन्। हामी पनि किस्ता किस्तामा यता एउटा उता एउटा गरेर भन्दा एक मुष्टै पाँच वटा लड्छौँ । हामी वान वाई वान गरेर लड्न आमन्त्रण गर्दैनौँ । हामी वान वाई वान वाला होइनौँ । हामी त आव आव भन्दै बोलाउने हो।’
उनले आगामी बैशाख ३१ गतेको स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनलाई ७ दिन उठ्न नसक्नेगरी पछार्ने भन्दै ठट्टासमेत गरेका थिए ।
उनले ढुंगा मुढा गरेर नभइ जनताको पवित्र मतले थला पार्ने बताए ।
‘बैशाख ३१ गते हामी एक झड्का ७ दिन नउठ्नेगरी पछार्छौँ । यीनीहरुको जस्तो सडकमा ढुंगा हानेर होइन । जनताको पवित्र मतबाट,’ उनले भने ।
अध्यक्ष ओलीले आफूहरुले देश र जनताको पक्षमा काम गरेको समेत दावी गरे । उनले जनताहरुलाई अल्मल्याउने र ठग्ने काम नगरेको जिकिर गरे ।
एमालेले जनता मार्ने मराउने काम नगरेको बरु देशलाई बनाउने काम गरेको बताए ।