तेह्रथुम, १४ फागुन । चुहानडाँडा लिफ्ट खानेपानी आयोजना अन्तर्गतको काम तीव्र गतिमा भइरहेको छ ।
तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ स्थित भुल्के दोभान फाक्चुवा खोलाको पानी लिफ्टबाट तानेर चुहानडाँडा बासीलाई खानेपानीको व्यवस्था मिलालउने योजनाको साथ आयोजनाको काम भइरहेको हो ।
जस अन्तर्गत दोस्रो र तेस्रो ट्याङ्की निर्माण कार्य सम्पन्न भई चौँथो ट्यांकीको निर्माण भइरहेको स्थानीय मोहन कुमार कन्दङ्वाले बताउनुभयो।
चुहानडाँडा लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत यो खानेपानी लिफ्ट आयोजना काम भइरहेको समितिका अध्यक्ष चन्द्र कन्दङ्वाले बताउनु भयो ।
गत सालबाट आयोजनाको काम थालनी भएको थियो । गत वर्ष योजना अन्र्तगत (पहिलो बर्ष) इन्टेक र पहिलो ट्याङ्की निर्माण सम्पन्न भएको थियो ।
तीन वर्षे योजना रहेको चुहानडाँडा लिफ्ट खानेपानी आयोजनाको अर्को साल पूर्ण हुने छ ।
आयोजनाका लागि पहिलो वर्ष प्रदेश १ सरकारले १७ लाख ३५ हजार बजेट छुट्याएको थियो। यस खानेपानी आयोजना पूरा भएपछि चुहानडाँडाका हिले, बोखिम, सिमखर्क, थुम्की भालुखोप, आम्बोटे, मंसारी, हात्तिखर्क र आहालेका गरि ३६० भन्दा बढी परिवार लाभाम्वित हुनेछन् ।
भुल्के दोभानबाट लिफ्टिङ गरि खुन्द्रुके, बेतेनीमा र मंगलबारेमा ट्याङ्की निर्माण हुने छ । त्यसपछि मंगलबारे पानी ट्याङ्कीबाट वितरण हुने अध्यक्ष कन्दङ्वाले बताउनु भयो ।
आयोजनाको काम पूरा भएपछि चुहानडाँडा बासीमा खानेपानीबाट सिर्जित सास्ति टर्नेछ । खानेपानी अभावका कारण चुहानडाँडामा बसाईसराई तीव्र थियो ।