अध्यक्ष दाहालद्वारा जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते÷अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष दाहालले जनयुद्धमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर्नुभयो ।

उहाँले जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

– रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!