फिदिम, ७ बैशाख ।। सातौँ कृषि गणनाका लागि पाँचथर जिल्लामा ४७ गणक र १३ सुपरिवेक्षक खटिएका छन् । जिल्लाका ८ वटै स्थानीय तहका लागि ४७ गणक र १३ सुपरिवेक्षक गरि जम्मा ६० कर्मचारी खटाइएको जिल्ला कृषि गणना कार्यालय पाँचथरका अधिकृत मनोज भट्टराईले जनाकारी दिएका छन् ।
उनका अनुसार गणकहरुले जिल्लाका १३४ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् भने करिब ३ देखि ४ जना गणकलाई एक सुपरीवेक्षकहरुले ‘गाइड’ गर्नेछन् ।
त्यस्तै एक सुपरिवेक्षकले एक पालिकाका पूरै र अन्य पालिकाका केही गणना क्षेत्रहरुमा पनि निरीक्षण गर्नुपर्ने हुन्छ । यस पटकको कृषि गणनामा विगातको भन्दा केही फरक भएको जिल्ला कृषि गणना कार्यालय पाँचथरका अधिकृत भट्टराईले बताए ।
विगतमा जिल्लास्तरको तथ्याङक संकलन गरिनेमा यसपटक भने पालिका स्तरमा तथ्याङक संकलन गरिने उनको भनाइ छ ।
‘विगतमा भन्दा यो पटकको कृषि गणना अलिक फरक हुनेछ । यो लार्ज स्केल सर्भे भएपनि अरु सर्भेहर भन्दा अलिक ठूलो हो,’ अधिकृत भट्टराईले भने, ‘२०६८ सालमा जिल्लागत विवरण आउँथ्यो । यो प्रत्येक पालिका स्तरमा तथ्याङ्क आउँछ । यद्यपि जनगणना जस्तो प्रत्येक घरमा पुग्नु पर्दैन।’
उनका अनुसार सबै घरमा सुचिकरण गरिएपनि त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने घर छनौँट गरेर ती घरहरुमा मात्रै गणक पुग्नेछन् । जनगणनामा भन्दा प्रश्नावली केही लामो र धेरै हुने उनले बताए ।
पाँचथरमा साधारणतय एक गणना क्षेत्रमा २५ हारहारीमा गणकहरुले विवरण भर्नु पर्नेछ । कृषि गणना बैशाख ५ गतेबाट जेठ १९ सम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय पाँचथरले जनाएको छ ।
जेठ १९ देखि गणक तथा सुपरीवेक्षकहरुले फायल बुझाउन थाल्ने भएपनि कार्यालय भने जेठ मसान्तसम्मनै खुला रहने जनाइएको छ ।
छनौटमा परेका गणक र सुपरिवेक्षका लागि गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म तालिम दिइएको थियो ।