चुहानडाँडामा काजीमान कन्दङ्वाको सालिक बन्दै, को हुन काजीमान ?

चुहानडाँडा, १३ बैशाख । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर – ६ मा काजीमान कन्दङ्वाको सालिक निर्माण हुने भएको छ ।

सालिक आठराई – ६ (साविक चुहानडाँडा- ३) स्थित हाट्डाँडामा निर्माण हुने भएको हो । चुहानडाँडा बजारको मुख्य बजार कोलटारमा सालिक निर्माण गरिने भएनिएतापनि स्थानीयको अवरोधका कारण त्यहाँ निर्माण हुन नसकेको हो ।

वडाका विभिन्न दलहरु (नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) का शीर्ष नेताहरुको उपस्थितिमा उक्त सालिक निर्माणको सिलान्याससमेत भइसकेको छ ।

बन्न लागेको सालिक पहाडी राजमार्ग अन्तर्गत पर्ने हाट्डाँडाको सडक छेउमै पर्छ । हालसम्म सालिक निर्माणको काम १० प्रतिशत सम्पन्न भइसकेको सालिक निर्माण समितिका अध्यक्ष ओमकुमार लिम्बुले जानकारी दिनुभयो ।

यही जेठ २२ गते सालिक निर्माणक कार्य सम्पन्न गर्ने लक्ष्य रहेपनि स्थानीय तहको निर्वाचनका कारण समापन कार्य अलि पछि सरेको अध्यक्ष लिम्बूले बताउनुभयो । यद्यपि असार १ गतेसम्ममा निर्माण सकिने उहाँको भनाइ छ ।

अध्यक्ष : ओम लिम्बू

सालिग निर्माणका लागि २० लाख खर्च अनुमान गरिएको र गाउँपालिकाबाट १९ लाख बजेट आइसकेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

आठराईबासीको पहलमा विगतदेखि केही वर्ष पहिले नै काजीमान कन्दङ्वाको सालिक निर्माण गर्ने पहल चल्दै आएको थियो । तर निर्णण कार्यले गति लिन सकेको थिएन ।

निर्माण स्थल र विभिन्न कारणले यसअघि सालिक निर्माण गर्न पहल गर्दा पनि ढिलाई भएको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिनुभयो ।

‘यसअघि चुहानडाँडाको कोलटारमा निर्माणको कुरा चलेको थियो स्थानीयको बिरोध र विभिन्न कारणले कामले गति लिनसकेको थिएन । अब निर्माण थालनी भइसकेकोछ । केही महिनामै सम्पन्न हुनेछ,’  गाउँपालिका अध्यक्ष मनबहादुर लिम्बूले भन्नुभयो।

को हुन काजीमान ?

बि.सं १९८६ साल पुस १८ गते बुधबार हालको इवामामा जन्मिएका काजीमान कन्दङ्वा तत्कानलीन राजा महेन्द्रवीर बिक्रम शाहका शासनका बेला विभिन्न सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्दै सहायक गृहमन्त्रीसम्म पद बहाल भएका थिए ।

भारतमा मेट्रिक पास गरेका उनले बिस २०३० सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट बीए पास गरेका थिए ।

त्यसअघि बिस २००७ सालमा प्रजातन्त्र स्थापना कालमा तेह्रथुम, धनकुटा र ताप्लेजुङ क्षेत्रमा सक्रिय भूमिकामा रहेका थिए ।

२००७ सालमै धनकुटा कब्जा भएपछि गठन भएको समसामयीक सरकारमा उनी सहायक शिक्षामन्त्री बनेका थिए ।

त्यसबेला नेपाली काँग्रेसको जिल्ला पूर्वाञ्चल र केन्द्रीय सदस्य, नेपाल किसान संगठन केन्द्रीय समितिको सहसचिवको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०१६ मा उनी अखिल नेपाल पीछडिएको जाति सम्मेलन आयोजक समितिको महासचिव बनेका थिए ।

त्यस्तै, मेहेन्द्र वीरबिक्रम शाहले गठन गरेको सरकारको बेला २०१७ सालमा पुस १२ गते उनी सहायक गृहमन्त्री बनेका थिए ।

२०१९ मा सहायक अर्थ तथा आर्थिक कार्य विषयकमन्त्री, २०१९ चैत २० राजसभाको सम्माननीय सदस्य, २०३८ सालमा अञ्चाधीश, २०४१ सालमा राजसभा सदस्य, त्यस्तै २०४८ सालमा उनले राजसभाबाट राजीनामा दिएर नयाँ दल गठन गरि नेतृत्व गरेका थिए ।

त्यसअघि २०२० सालमा तेह्रथुम जिल्लाको पोखरी पञ्चाय सदस्य, तेह्रथुम पञ्चायत सदस्य, त्यसपछि मोरङ जिल्लाको केराबारी गाउँ पञ्चायत सदस्य, उपप्रधान पञ्च, मोरङ ।

जिल्ला सभासद मोरङ, जिल्ला पञ्चायत सदस्य मोरङ, मोराङ पञ्चायतको निर्विरोध सभापति, २०२६ सालको जनमत संग्रहमा सक्रिय भूमिकामा रहेका थिए ।

समाचार समग्री  : कृष्ण कन्दङ्वा