आठराई – ६ वडामा एमाले-माओवादीबीच तालमेल, काँग्रेसलाई नेकपा (एस)ले सघाउने

तेह्रथुम, १३ बैशाख । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा – ६ मा नेकपा (एमाले) र नेकपा माओवादीबीच तालमेल हुने भएको छ ।

एमाले र माओवादी केन्द्रको बैठक बसेर वडामा तालमेल गर्नेबारे निर्णय भएको बताइएको छ । केन्द्रको सत्ता गठबन्धनको निर्देशनबिपरित उक्त तालमेल हुन लागेको हो । माओवादीले अध्यक्षका उम्मेदवार (एमाले) अनिलचन्द्र कन्दङ्वालाई सघाउने निर्णय भएसँगै तालमेल गर्ने भएको हो । त्यस्तै एमालेले माओवादीलाई महिला सदस्य र खुला सदस्यमा सहयोग गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

त्यस्तै नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल हुने भएको छ । यता काँग्रेस समाजवादीको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसका कृष्णप्रसाद बाँकोटाले उम्मेदवारी दिएका छन् । उनले एमालेका उम्मेदवार कन्दङ्वासँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट ओम लिम्बू, उदय कन्दङ्वा (काँग्रेस)वडा – ६ सदस्यको उम्मेदवार बनेका छन् । हरिमाया थपलिया एमालेबाट, दलित महिलामा भमा बर्देवा (काङ्ग्रेस), माओवादी केन्द्रबाट छिरिङ तामाङ सदस्यको उम्मेदवार बनेका छन् ।

गत निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा माओवादीबाट तेजप्रसाद कन्दङ्वा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।