- कृष्ण कन्दङ्वा
तेह्रथुम, १४ बैशाख । यतिवेला स्थानीय तहको निर्वाचनको सरगमी मुलकभर छ । मुलुकको ७५३ वटै स्थानीय तहमा यतिखेर नयाँ नेतृत्वको लागि नेताहरु दौडधुपमा छन् ।
आफ्नो पालिकामा बिकासको गति दिने र जनतामा समृद्धि ल्याने सपना देखाउदै जनप्रतिनिधि बन्न नेताहरुको गाउँ-टोल दौडाहा छ ।
नेताहरुको दौडधुप र सरगमीको अन्तिम नतिजा भने आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले नै टुंगो लगाउने छ ।
यसैक्रममा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बनेका रामचन्द्र थपलियासँग साझा चासोका लागि कृष्ण कन्दङवाले गरेको कुराकानीको सारसंक्षेपमा
आठराई गाउँपालिकाको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
आठराईको समग्र समृद्धि र आठराईका जनताको हितको खातिर काम गर्ने उदेश्यका साथ मेरो उम्मेदवारी हो । आठराई एक ऐतिहासिक ठाउँ भएकाले अझ चिनाउनका लागि पनि मेरो उम्मेदवारी हो ।
आठराईको समग्र जनताहरुको सुखी र समृद्धिको निम्ति यहाँका किसानको जीवनस्तर माथि उकास्नाको लागि विभिन्न योजनाकासाथ मैले उम्मेदवारी दिएको हुँ ।
आफैले आफैलाई मूल्यांकन गर्दा अध्यक्षमा निर्वाचित हुन्छुजस्तो लाग्छ ? विपक्षमा गठबन्धन छ । जित्ने आधारहरु के के छन् ?
मैले आठराईको बिकास निर्माणमा ठूलो योगदान दिएको छु। चाहे पुष्पलाल मध्यपहाडी राजमार्गको थालनीको बेला होस् या आठराई समाजमा रहँदा चाहे एयरपोर्ट निर्माणसमितिको सचिवको हैसियतमा होस् । आठराईको बिकास निर्माणमा प्रत्यक्ष खट्ने योद्धाको रुपमा आठराईको जनताले चिनेको हुनाले पनि जित्नलाई मलाई कुनै गाह्रो छैन ।
अर्को कुरा २०२४ सालदेखि राजनीतिमा संलग्न हुँदै सातैवटा वडामा टोल टोलसम्म पुगेको छु। जनताको सुख: दुख: बाँड्दै खेल्दै रमाउदै आएको हुनाले जनताहरुको मप्रति सहानुभूति व्यापक बनेको छ ।
यदी अध्यक्षमा निर्वाचित भएको अवस्थामा आठराईलाई कसरी बिकासको गतिमा लैजानुहुन्छ ?
म निर्वाचित भएको अवस्थामा यहाँको बिकासका लागि थुप्रै एजेण्डाहरु छन् । तथापि मेरो पहिलो कुरा के छ भने राज्यबाट भएको लगानी जे जति बजेट छ । त्यो बजेटलाई ठीक ढंगले सदुपयोग गर्ने र त्यो बजेटलाई चुहावट हुन नदिने, ठिक ढंगले सदुपयोग गर्ने गराउने गरियो भने आठराईको आवश्यकता कुन ठाउँमा के के छ भन्नेकुरा हाम्रो पार्टीले यहाँको बिकासका लागि आठराईको घोषणापत्र जारी भएको छ । त्यसलाई पहिलो प्राथमिकता दिएर हामी अघि बढ्छौँ। त्यति मात्रै गर्यौँ भने आठराईको मुहार भिन्न हुन्छ । जस्तो लाग्छ ।
आठराईको बिकासको मुख्य आधार के देख्नु भएको छ ? त्यसको परिचालन कसरी गरे समुन्नत आठराई बन्छ होला ?
आठराईको मुख्य आधार भनेको अहिले बाटो आएको छ । विजुली आएको छ । अब कतिपय वडाहरुमा खानेपानीको समस्याहरु छन् । तिनीहरुलाई परिपूर्ति गर्ने, हिजोका गाउँघरमा खनिएका सडकहरु छन् ती सडकहरुलाई मुख्य सडकहरुसँग जोड्नलाई स्तरोन्नति गर्ने । विजुली व्यवस्थापन गर्ने खानेपानी व्यवस्थित गर्ने यी जनताको प्रत्यक्ष सरोकार राख्ने विषय पहिलो प्राथमिकता हुन् ।
विकासको मुख्य आधार भनेको चुहानडाँडामा एयरपोर्टको कुरा अलमलमा छ । यसप्रति पूर्ण रुपमा ‘फोकस’ गाउँपालिकाले दिनेछ । र, त्यसको निमित्त हामी लागि पर्नेछौँ । यो भइदियो भने । आठराईका समग्र विद्यालयको शैक्षिक वृद्धि बिकास गर्नका लागि ध्यान हुनेछ । प्रत्येक विद्यालयमा अंग्रेजी माध्यमको थालनी गर्नेछु । र, सबै स्कुललाई बोर्डिङको अनुभूत गराउनुेछु । जसका कारण यहाँबाट धरान, विराटनगर केन्द्रित हुने र उतै पढाउने प्रचलनबाट मुक्त गराउनेछु । संक्रान्तिबजारको प्रथामिक केन्द्रलाई स्तरोन्ती गरेर एक एमबीबीएस डाक्टर सँधैका लागि बस्ने व्यवस्था गर्नेछु ।
आठराईलाई समुन्नत विकास गर्नका लागि ७ वटै वडामा हामी जित्छौँ । हाम्रो टिमलाई त्यहाँको आवश्यकता पहिचान गर्न लगाउछौँ । उक्त आवश्यकतालाई परिपूर्ति गर्न सिंगै टिमलाई प्रशिक्षित गराउदै सिंगो टिमलाई एकाग्र ढंगले भावनात्मक रुपबाट आठराईको मुहार फेर्नेछौँ । हामी गर्छौ भनेर प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो इच्छा अकांक्षाहरु पूरा हुन्छन् ।
जसरी एमालेलाई केन्द्रमा पनि संघीयता र पहिचानको बिरोधी आरोप लाग्दै आएको छ । स्थानीय स्तरमा पनि आठराईमा एमालेको त्यही स्वभाव छ भन्ने गुनासो छ नी ? जस्तो चुहानडाँडा बजारमा काजीमानको सालिक बन्न नदिनु कारण एमाले नै भन्छन् नी ?
हामी कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय जात हुनेछ । जातको कुराकानीमा हाम्रो विभेद छैन । काजीमान कन्दङ्वाको सालिक निर्माण नगर्ने भन्ने कुरामा कुनै पार्टीको संलग्न छैन । अर्को कुरा हामीले काजीमानको सालिक नबनाउने भन्ने कुराको प्रमाण पाउनुभयो पार्टीको तर्फबाट हामी त्यसलाई कुराकानी गर्नेछौँ । पार्टीको तर्फबाट कुराकानी आयो भने त्यसलाई कहाँ एसक्युज गर्नुपर्ने हो हामी गर्छौ । हामी आलोचित हुन पनि तयार छौँ । तर हाम्रो पार्टीको तर्फबाट त्यस्तो कुराकानी भएको छैन । जुन कुराकानी गर्नु भएको छ त्यो कपोकल्पित हो । हामीले स्थानीयसँग सल्लाहका साथ गरिनुपर्दछ । जहाँ सालिक बन्न लागेको हो । त्यहाँ वरीपरीका मानिसहरुलाई राखेर, सबै पार्टीहरुलाई राखेर सहमति गरेर बनाउन पर्दछ भनेर मात्रै भनेका हौँ । तर हामीले पार्टीकै रुपमा बिरोध कसैलाई गरेका छैनौँ ।
थपलिया श्री शारदा मा.वि चुहानडाँडाका पूर्वप्रधानाध्यापक तथा नेकपा (एमाले) प्रदेश -१ कमिटी सदस्यसमेत हुन् ।