चुहानडाँडा, १६ बैशाख । काजीमान कन्दङ्वा सालिक निर्माण समितिका अध्यक्ष ओम लिम्बूले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवारी दिएसँगै उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा मनोनयन गर्दाका निर्वाचन आयोगको आचारसहिंता पालना गर्नु पर्ने भएकोले पदबाट राजीनामा दिएको लिम्बूले साझा चासोसँग बताए ।
उनले तत्कालका लागि राजीनामा दिएर कामलाई निरन्तरता दिइरहन अन्य सदस्यहरुलाई निर्देशन दिएको बताए । सालिक निर्माणका लागि समिति सदस्य तथा सरोकारवालाहरुसँ निरन्तर समोन्वय र सहयोग गरिरहने प्रतिबद्धता लिम्बूले जाहेर गरेका छन् ।
काजीमान कन्दङ्वाको सालिक तेह्रथुम आठराई गाउँपालिका ६ चुहानडाँडा साविक (चुहानडाँडा ३ हाट्डाँडा)मा निर्माण भइरहेको छ । हालसम्म उक्त काम १० प्रतिशत सम्पन्न भइसकेको निवर्तमान अध्यक्ष लिम्बूले बताए ।
निर्वाचन सम्पन्न भएपस्चात द्रुत गतिमा काम हुने उनले बताए । गाउँपालिकाको १९ लाख बजेटमा निर्माण भइरहेको सालिक यही असार १ गतेसम्ममा सम्पन्न गरिसक्ने उदेश्य रहेको छ । हाललाई सालिक निर्माण समितिको अध्यक्षको जिम्मा सुरेश कन्दङ्वालाई दिइएको लिम्बूले बताए । लिम्बू नेकपा एकीकृत समाजवादीका आठराई वडा ६ कमिटी अध्यक्षसमेत हुन् ।