तेह्रथुम, १७ बैशाख । नेपाली काँग्रेसका तर्फबाट म्याङ्लुङ नगरपालिका प्रमुखको उम्मेदवार अर्जुन तुम्बाहाम्फेले नगरका सुख्खाग्रस्त क्षेत्रका बस्तीमा खानेपानीको व्यवस्था गर्ने र ती क्षेत्रमा सिचाइ योग्य जमिन बनाउने आश्वसन दिएका छन् ।
उनले आफूलाई निर्वाचित गरेको अवस्थामा नगरका केही क्षेत्र सुख्खाग्रस्त रहेको र ती क्षेत्रमा लिफ्टमार्फत पानी ल्याएर स्थानीयलाई खानेपानीका साथै सिचाइ सुविधायुक्त बनाइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले म्याङ्लुङमा गर्नुपर्ने बिकासहरु धेरै रहेको औँल्याउदै आफूलाई मेयरमा विजयी गराए नगरलाई समृद्ध बनाउने बताए ।
उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘यस नगरमा गर्नुपर्ने कामहरु धेरै छन् । शिक्षा, खानेपानी, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता कार्यहरु गर्नुपर्नेछ । यहाँका केही क्षेत्रहरु एकदमै सुख्खाग्रस्त छन्। यदी मलाई बिजयी बनाउनु भएको अवस्थामा ती क्षेत्रमा लिफ्टमार्फत पानी तानेर नगरबासीलाई खानेपानीको व्यवस्था गर्नेछु । र, त्यहाँ सिचाईको व्यवस्थासम्म गर्नेछु।’
उनले हालसम्मको व्यतित समय समाजसेवामै बिताएकोले आगामी दिनमा पनि समाज सेवामै व्यतित गर्ने जनाएका छन् । मेयरमा विजयी गराएको अवस्थामा आफू अहोरात्र नगरबासीको सेवामा खटिने प्रतिबद्धता उनले जाहेर गरेका छन् । साथै आफूले नगरको दिगो बिकासको लक्ष्य राखेको उल्लेख गरे ।