- कृष्ण कन्दङ्वा
तेह्रथुम, १८ बैशाख । नेकपा (एमाले) नेता अनिलचन्द्र कन्दङ्वाले चुहानडाँडालाई तेह्रथुम जिल्लाकै नमुना वडा बनाउने दावी गरेका छन् ।
आठराई गाउँपालिका वडा – ६ को अध्यक्षका लागि उम्मेदवारी दिएका कन्दङ्वाले चुहानडाँडालाई जिल्लाकै नमुना वडा भएको हेर्न चाहने मतदाताहरुले आफूलाई मत दिनुपर्ने बताए ।
नेकपा (एमाले-माओवादी केन्द्र)का साझा उम्मेदवार रहेका उनले वडाको बिकासका लागि सबैभन्दा पहिले जनताको आधारभूत आवश्यकताको पूर्ति गर्नेबाट थालनी गरिने उल्लेख गरे ।
‘चुहानडाँडाको समग्र बिकास गरेर समुन्नत चुहानडाँडा निर्माण गर्नका लागि अध्यक्षको उम्मेदवारी दिएको हुँ । चुहानडाँडालाई नमुना वडाको रुपमा बिकास गरि जिल्लाकै उत्कृष्ट वडा निर्माण गर्ने मेरो चाहना छ । यहाँका मानिसका आधारभूत आवश्यकताहरुलाई पूर्ति गर्ने मेरो पहिलो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘स्थानीयलाई बढीभन्दा बढी उत्पादनसँग जोडेर, आर्थिक रुपमा सम्पन्न गर्न सकिन्छ । यहाँका जनताको आर्थिकस्थिती कसरी उकास्न सकिन्छ जस्ता कुराहरु अध्यायन अनुसन्धन गरेर त्यही अनुरुप त्यसको उत्थानका लागि अघि बढ्छु।’
यस्ता छन् कन्दङ्वाका प्रतिबद्धताहरु
– चुहानडाँडाका विभिन्न सामुदायीक विद्यालयहरुको नियमित अनुगमन गरेर प्रभावकारी शिक्षामा जोड दिने, आवश्यक परे शिक्षा प्रणालीको सुधार गर्ने, शिक्षामा परीणाममुखी नतिजा निकाल्नका लागि बढी भन्दा बढी जोड दिने ।
– हाल धेरैभन्दा धेरै बालबच्चाहरु विद्यालयभन्दा बाहिर रहेको र तिनीहरुलाई विद्यालय भर्ना गरेर बाहिर रहने बालबालिकाको संख्या सुन्यमा झार्ने ।
– वर्तमान विकासका मोडलहरु पुराना खालका भएकोले अब त्यसको परिमार्जन र परिवर्तन गरेर नयाँ ढंगको बिकासको अवधारणा ल्याउने, यसका लागि विभिन्न समयमा खनिएका वडाभरीका ग्रामिण सडकहरु ट्रयाकभन्दा पनि स्थलगत रुपमा अनुगमन गरेर स्तरोन्नती गर्ने ।
– वडामा विभिन्न प्रकारका ठूला ठूला खानेपानीको आयोजनाहरु निर्माण भइरहेको र यस्लाई अझै व्यवस्थित गरेर जनताको दैनिकीसँग जोडिनेगरी सुविधाको प्रत्याभूत गर्ने ।
– वडाको विभिन्न क्षेत्रमा स्वास्थ्य इकाइहरु स्थापना गर्ने जसले ठूलो भएकोले स्वास्थ्य संस्था टाढा पर्ने हुँदा उनीहरुलाई सहज होस् ।
– वडाका सरकारी कार्यलय र संघ संस्थाहरुमा विद्युत वितरण भएकाछन् उज्यालो चुहानडाँडा घोषणाउन्मुख भएको छ । ती सरकारी कार्यालय र संस्थालाई वडामार्फत नि:शुल्क विद्युतको व्यवस्था गर्ने ।
– चुहानडाँडाका विभिन्न भाषाभाषी र धर्मावलम्बीहरुको आआफ्नो संस्कृति संरक्षणका प्रवद्र्धनका लागि वडाले पहल गर्ने , र, पीछडिएको जाति समुदायका लागि क्षमति अभिवृद्धि गर्ने कार्यक्रहरु ल्याउने ।
निर्वाचित हुने दाबी
नेकपा (एमाले)लाई नेकपा (माओवादी केन्द्र)को समर्थन भएकाले आफू वडा अध्यक्षमा निर्वाचित हुनेमा ढुक्क रहेको उनले बताएका छन् । त्यसका साथै आफूले विगत देखिनै सामाजिक क्षेत्रमा रहेकाले चुहानडाँडाबासीले आफूलाई निर्वाचित गराउने उनले बताए ।
‘म विगतमा कुनै विवादमा मुछिएको छैन । मैले बिगतदेखि नै समाजिक क्षेत्रमा यस क्षेत्रका जनतालाई ठूलो योगदान गरेको हुनाले मेरो जित निश्चित छ,’ उनले भने ।
अध्यक्षका उम्मेदवार कन्दङ्वा लामो समयदेखि राजनीतिमा छन् । उनले विभिन्न क्षेत्रबाट स्थानीय र जिल्ला क्षेत्रमा ठूलो योगदान गर्दै आएका छन्। वर्तमान एमाले जिल्ला कमिटी तेह्रथुमका निर्वाचित सदस्य रहेको उनी स्थानीय स्तरमा जुझारु नेतको रुपमा परिचित छन् ।
समाचार सामग्री : कृष्ण कन्दङ्वा