आठराई-६ मा वाम-लोकतान्त्रिक गठबन्धनलाई जिताउन टोल-टोल छिरे काँग्रेसका अग्रज नेताहरु

तेह्रथुम, १९ बैशाख । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडामा वाम-लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान तीव्र पारेको छ ।

उसले वडा-६ अन्तर्गत पर्ने (साविक चुहानडाँडा गा.बि.स अन्तर्गतका-९ वटै वडा)हरुमा चुनावी अभियान संचालन गरिरहेको छ ।

वडाको नेतृत्वमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन नेपाली काँग्रेसका पुराना नेताहरु जयप्रसाद मैनाली, भिष्म थपलिया, पूर्वशिक्षक जगत थपलिया, नेपाल शिक्षक संघा आठराईका पूर्वसभापति विरेन्द्र कन्दङ्वा लगायतका नेताहरु प्रत्यक्ष रुपमा खटिएका छन् ।

चुहानडाँडामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धन रहेको छ । यहाँ माओवादी केन्द्र भने एमालेको समर्थक बन्न गएको छ ।  आठराई ६ चुहानडाँडामा  वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुमा कांग्रेस प्रदेश सभा (ख) सचिव कृष्णप्रसाद बास्कोटा वडा अध्यक्षको उम्मेदवार छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) आठराई ६ चुहानडाँडा अध्यक्ष ओमकुमार कन्दङ्वा लिम्बू सदस्यको उम्मेदवार छन् । एकीकृत समाजवादीका उम्मेदवार भएपनि उनलाई जिताउन संयुक्त रुपमा रुखमै भोट दिन सकिनेछ ।

त्यस्तै अन्य वडा सदस्य नेपाली काँग्रेसबाट सञ्जुमायाँ घिसिङ, भमा बर्देवा र उदयराज कन्दङ्वा   सदस्यको उम्मेदवार रहेका छन् ।

चुनावी अभियान हालसम्म धेरैजसो टोलमा सकिसकेको आठराई – ६ सभापति समेत रहेका काँग्रेस नेता जयप्रसाद मैनालीले जानकारी दिएका छन् । उनले अहिलेको उपस्थिती र अवस्था हेर्दा वाम-लोकतान्त्रिकका उम्मेदवारले जित्ने संभावना ७० प्रतिशत रहेको दावी गरे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!