बाजुरा । २४ बैशाख । बाजुरामा कुकुर कुटेको निहुँमा काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुबीच झडप भएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका–९ पाण्डुसेनमा उनीहरुबीच झडप भएको हो ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्तिले हिर्काएको विषयमा विवाद सुरु भएको र विवादले ठूलै रुप लिएको प्रहरीको भनाइ छ ।
बाजुरा प्रहरीका अनुसार स्थिती नियन्त्रणमा लिन २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
चुनावी कार्यक्रमका बेला शनिबार एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हानेका थिए । त्यसपछि काँग्रेसका कार्यकर्ताले समाजवादीको कार्यकर्तामाथि हात हालेको प्रहरी समक्ष बताइएको छ ।
काँग्रेस कार्यकर्ताले लखेटेपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा गुहार माग्न आइपुगेको बताइएको छ ।
प्रहरीका अनुसार लखेट्दै आएका काँग्रेस कार्यकर्ताले चौकीमै आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि स्थिती नियन्त्रण गर्नका लागि प्रहरीले हवाई फायर गरेको हो ।
घटनामा प्रहरीसहित काँग्रेस र नेकपा समाजवादीका कार्यकर्ताहर घाइते भएका छन् ।