काठमाडौं, २६ बैशाख । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्चण्डलाई सामाजिक संजालमा गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । उनलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई जुत्ता हान्छु भन्दै लेखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का ५२ वर्षीय यज्ञबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । उनले फेसबुकम ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ स्टाटस लेखेका थिए । अध्यक्ष प्रचण्ड आजै चुनावी सभालाई सम्बोधन गर्न दाङ जाँदैछन् ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई समातेको हो । उनलाई विद्युतीय कारबाही ऐनअनुसार कारबाही हुने बताइएको छ । उनी स्थानीय सञ्चारमाध्यममा आबद्ध रहेको जनाइएको छ ।