तेह्रथुम, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला सचिव गजेन्द्र कन्दङ्वाले देशको निरकुंशतावादी शक्तिलाई परास्त गर्न विगतदेखि नै कम्युनिष्ट र काँग्रेसको सहकार्य हुँदै आएको उल्लेख गरेका छन् ।
तेह्रथुमको चुहानडाँडामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सचिव कन्दङ्वाले बि.स.२०६२\६३ मा पनि नेपाली काँग्रेको नेतृत्व र कम्युनिष्टको सहयोगमा नेपालको सामन्तवादी राज्य सत्तालाई सदाको लागि अन्त्य गरिएको उनले बताए ।
‘बि.स.२०६२\६३ को विशाल जनआन्दोलन मार्फत नेपालको सामन्तवादी राज्य सत्तलाई सदाको लागि विदा गर्नका लागि पनि नेपाली काँग्रेसको नेतृत्वमा कम्युनिष्ट पार्टी काँग्रेससँग मिल्नु पर्यो,’ उनले भने, ‘कम्युनिष्ट हरुले हरेक आन्दोलनमा देशको तानशाहलाई परास्त गर्न काँग्रेस सँग मिल्नु पर्यो । अब फेरि केपी ओलीको सर्वसत्तावादी र उनको निरंकुशताकोबिरुद्ध कम्युनिष्टहरु काँग्रेससँग मिल्नु परेको हो।’
संविधान र संघियतालाई बचाउनका लागि पनि यो गठबन्धन अपरिहार्य रहेको उनले दावी गरे ।
‘७० वर्षभन्दा लामो नेपाली जनाताको संघर्षबाट पाएको उपलब्धिलाई जोगाउन हामी काँग्रेससँग मिल्नु पर्यो। नेपाली काँग्रेस लोकतन्त्र र प्रजातन्त्रको लागि लड्ने एक ऐतिहासिक पार्टी हो । अहिले देश जुन लाइनमा हिडेको छ त्यो सारा मुद्धा माओवादी केन्द्रले उठाएको मुद्धा हो । गणतन्त्र र सविधानका लागि लड्ने पार्टी माओवादी हो,’ उनले भने, ‘हो हामी यीनै पार्टीसँग मिलेका छौँ । हिजो हामी प्रजातन्त्रको कुरा गरिरहँदा, स्वतन्त्रताको कुरा गरिरहँदा हाम्रो छाँतिमा पुलिसको बुट बजार्ने, बन्दुक तेर्याउने पञ्चे मण्डलेहरुसँग मिलेका छैनौँ । हामी देशका लोकतन्त्रवादी शक्तिसँग मिलेक हौँ।’
उनले आफूहरु सर्वसत्तावादी र निरंकुशतावादी शक्तिलाई परास्त गर्न एक ठाउँमा उभिएको दावी गरे । उनले स्थानीय तहको निर्वाचनमा राम्रो र हाम्रो उम्मेदवार जिताउन लागि परिरहेको पनि जिकिर गरे ।
सचिव कन्दङ्वाले नेपालमा जसले नेताको पछि दौडिएर वरिपरीको फेरो समाउन सक्छन् उनीहरुमा मात्रै सम्पन्न रहेको उनले दावी गरे । पहुँज र नेताको चाकरी नगर्ने नेपालीको अवस्था अझै नाजुक रहेको उनले बताए । उक्त विपन्न र पहुँजविहीन क्षेत्र र समुदायका लागि आफूहरु सहारा बन्ने प्रयत्नमा उनले दावी गरे ।
समाचार सामग्री : कृष्ण कन्दङ्वा