एमालेबाहेक कसैले आठराईमा एयरपोर्ट निर्माण गर्न सक्दैन : सांसद तेजमान कन्दङ्वा

  • कृष्ण कन्दङ्वा

तेह्रथुम, २७ बैशाख । प्रदेश-१ सांसद तथा नेकपा एमाले नेता तेजमान कन्ङ्वाले आठराईमा नेकपा एमालेबाहेक कसैले एयरपोर्ट निर्माण गर्न नसक्ने दावी गरेका छन् ।

आठराईकै प्रतिनिधित्व गर्दै प्रदेश सांसद बनेका कन्दङ्वाले मंगलबार साझा चासोसँग कुराकानी गर्दै आठराईको समग्र बिकास र प्रगतिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरे ।

‘आठराईमा एयरपोर्ट बनाउनु पर्छ भनेर अन्य दलले अगुवाई गरेको होइन । यो हामीले गरेको हो त्यो पनि धेरै पहिलादेखि यसमा म आफैपनि सरोकार समितिको अध्यक्ष छु,’ उनले भने ‘आगराई गाउँपालिको अध्यक्ष उम्मेदवार रामचन्द्र थपलिया त्यहाँको सचिव । आठराई मोटरबाटो सरोकार समितिको अध्यक्ष पनि म थिएँ । त्यसकारणले यहाँको विकासकालागि एमालेको नेतृत्व अपरिहार्य छ।’

‘आठराई मात्रै नभएर मुलुकभर सामाजिक न्याय दिलाउने पार्टी कम्युनिष्ट पार्टी हो । जसका काराण पनि आठराईमा एमालेको नेतृत्व आवश्यक छ,’ उनले थपे ।

सामाजिक न्यायलाई जनस्तरमा, विपन्न वर्गसम्म र गाउँगाउँसम्म पुर्याउनका लागि आठराईमा एमालेले जित्नुपर्ने सांसद कन्दङ्वाले बताए ।

लामो समयबाट आठराईको चुहानडाँडामा एयरपोर्ट बन्ने चर्चा छ । यद्यपि यतिका समयसम्म एयरपोर्ट निर्माण कार्यले गति लिन सकेको छैन ।

विभिन्न राजनीतिक दलले चुनावी एजेण्डामा पारेको चुहानडाँडा एयरपोर्ट स्थानीय नागरिकका लागि नेताहरुको भुलभुलैया आधार मात्रै बन्न पुगेको छ ।

हुनत उता आठराई गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका वामगठबन्धनका साझा उम्मेदवार दिलकुमार पाहिमले पनि आठराईमा एयरपोर्ट निर्माण गर्न विशेष पहल गर्ने घोषणापत्रमा जनाएका छन् । तर सांसद कन्दङ्लाले भने काँग्रेसले त्यो गर्न नसक्ने कुरा विगतको उसको कर्मले नै पुष्टि गर्ने दावी गरे ।

तेह्रथुमबाट काँग्रेसका २\२ जना संविधानसभा सदस्य हुँदा पन तमोर करिडोर पाँचथरको भूमि हुँदै जानु उनीहरुको भयङ्कर गल्ति गरेको उनले आरोप लगाए ।

चुहानडाँडामा एयरपोर्ट बनाउने दर्जनौँ प्रयास असफल

२०३४ सालमा पञ्चायती व्यवस्था रहेकै बेला निर्माणका लागि पञ्चायतले एयरपोर्ट निर्माण तयारीका लागि एक लाख रकम निकासा गरेको चुडानडाडा थुुम्की विमानस्थाल सरोकार समितिका सचिव रामचन्द्र थपलिया बताउँछन् । तर त्यो बेला आठराई चुहानडाडाँमा पहुँचवाला नभएको कारण सदरमुकाम म्याङ्लुङ तर्फका तत्तकालीन पञ्चायतहरुले बजेट लगेको सचिव थपलियाको भनाइ छ ।

सचिव थपलिया हाल आठराई गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका छन् । उनले अब अध्यक्ष जिते एयरपोर्टको लागि पहल गर्ने पुन: प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार हालसम्म एक दर्जनभन्दा बढी पटक एयरपोर्ट निर्माण तथा निर्माण कार्य शुरु गराउन तत्कालीन प्रधानमन्त्रीहरूसहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग निवेदन दिइएको छ ।

२०७१ माघ २१ गते शुशील कोइराला प्रधानमन्त्री रहेका बेला वर्तमान प्रधानमन्त्री ओलीकै नेतृत्वमा एयरपोर्ट निर्माणका लागि विवरण बुझाइएको एयरपोर्ट निर्माण सरोकार समितिका सचिव थपलियाले बताउनु भयो ।

त्यसअघि २०६७, ६९ सालमा पनि एयरपोर्ट निर्माणका लागि पहल भएको थियो । २०६८ साल कात्तिक १ गते तत्तकालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई एयरपोर्ट निर्माणका लागि निवेदन दिइएको थियो ।

२०७२ पुष २०७२ पौष ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पप्रचण्डलाई पनि एयरपोर्ट निर्माणका लागि निवेदन दिइएको थियो । त्यसपछि पहिलो पटक प्रधानमन्त्री हुनुभएका बेला केपी शर्मा ओलीलाई २०७३ भाद्रमा, त्यस्तैगरी २०७५ बैशाख १६ गते पनि प्रधानमन्त्री ओलीलाई एयरपोर्ट निर्माणका लागि निवेदन दिइएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले तत्कालीन नागरिक उड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई आफ्नो जन्मस्थानमा बन्ने एयरपोर्टबारे स्थलगत अध्ययनका लागि भन्दै चुहानडाँडा पठाएका थिए ।

सोही अध्ययन भ्रमणका क्रममा दुर्घटनामा परी मन्त्री अधिकारीको मृत्यु भएपश्चात पनि एयरपोर्ट निर्माणका लागि निरन्तर ताकेता भइरहेको सचिव थपलियाको भनाइ छ ।

एयरपोर्ट निर्माणको लागि २०७३ सालमा सम्भाव्यता, अध्ययन सर्वेक्षण र लागत स्टमेट तयार भएको थियो । त्यसबेला जसमा १२०० वर्गमिटर जग्गा आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो ।

त्यस्तैगरी एयरपोर्ट निर्माणका लागि ८७ करोड खर्च लाग्ने भनिएको थियो । हाल २ करोड निकासी समेत भइसकेको छ । एयरपोर्टका लागि आवश्यक जग्गा १२०० वर्गमिटरमध्ये ४८८ वर्गमिटर जग्गा व्यक्तिको रहेकाले अब मुआब्जा दिएर नागरिक उड्यान प्राधिकरणको नाममा ल्याएर काम अघि बढ्ने थपलियाको भनाइ छ ।

चुहानडाँडामा विमानस्थल बने छिमेकी जिल्लाहरु तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, धनकुटाका नागरिहरु प्रत्यक्ष लाभाम्वित हुने थिए ।