काँग्रेसको कमजोरीले तेह्रथुमेले तमोर करिडोर गुमायौँ, अब त्यस्तो हुन दिनुहुन्न: सांसद कन्दङ्वा

  • कृष्ण कन्दङ्वा

तेह्रथुम, २७ बैशाख । नेकपा एमाले सांसद तेजमान कन्दङ्वाले नेपाली काँग्रेसको कमजोरीका कारण तमोर करिडोरको बाटो पाँचथरको भूमि हुँदै गएको आरोप लगाएका छन् ।

साझा चासोसँग कुरा गर्दै मंगलबार सांसद कन्दङ्वाले तत्कालीन समयमा तेह्रथुमबाट एमालेको सांसद नहुँदा तेह्रथुमबासीले तमोर करिडोरको बाटो गुमाएको आरोप लगाए ।

‘तत्कालीन समयमा तेह्रथुमबाट सविधानसभा सदस्य (सीता गुरुङ र गणेश विमली) २\२ जना काँग्रेसको सांसद हुँदा पनि तमोर करिडोरको बाटो तेह्रथुमबाट ल्याउन सक्नु भएन । त्यो बेला एमाले कमजोर बनेको थियो । त्यसैको कारण तेह्रथुमे जनताले तमोर करिडोर गुमाउनु पर्यो,’ उनले भने, ‘हामीले तेह्रथुमको क्षेत्र हुँदै इवाबाट ताप्लेजुङ लैजाने भनेर आवाज उठायौँ । तर हाम्रो प्रतिनिधित्व नहुनाले सुनुवाइ भएन । तर काँग्रेसका त २\२ जना सांसद थिए । उहाँहरुले चासो नै देखाउनु भएन।’

यदी तत्कालीन समयमा काँग्रेसका प्रतिनिधिहरुले चासो देखाएको भए हालको तमोर करिडोर तेह्रथुमको भूमि हुँदै ताप्लेजुङ जोडिने उनको भनाइ छ । तर अब त्यस्तो हुन नदिन तेह्रथुममा एमालेले नै जित्नुपर्ने उनले दावी गरे ।

धनकुटाको धनकुटा, पाँचथर र तेह्रथुमको छातेढुंगा, इवा र ह्वाकु हुँदै लैजाऔँ भनेको बेला तत्कालीन सांसदहरुले चासो नदेखाएको उनले बताए ।